‘जसरी राम र सीताबीच घनिष्ठ सम्बन्ध भयो, त्यस्तै सम्बन्ध कायम गर्ने मौका यही हो’


वैशाख २८, काठमाण्डौ। प्रदेश नम्बर दुईका सामाजिक विकास मन्त्री नवलकिशोर शाहले भारतका प्रधानमन्त्री प्रदेश नम्बर दूईमा पहिलो पटक आएको हुनाले अवसरका रुपमा लिनुपर्ने बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै मन्त्री शाहले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी प्रदेश नम्बर दुईमा आउँदा आफूहरु खुशीले गदगद भएको बताए ।

“प्रदेश नम्बर दुईका जनताहरु मोदीको स्वागत गर्न चाहन्छन् । हामी हृदयले मोदीको स्वागत गर्छौँ । मोदीको आगमन प्रदेश नम्बर दूईका लागि मात्रै नभै समग्र नेपालको प्रतिष्ठाको विषय हो ।” शाहले भने ।

जनकपुरमा मोदी र नेपालका प्रधानमन्त्री ओलीसमेत आउने भएकाले यसले सम्बन्ध सुधारका लागि महत्व हुने उनको भनाई छ ।

“विगतमा भएका कमी कमजोरीलाई विर्सेर नयाँ सम्बन्ध स्थापित गर्नुपर्छ । अब नेपाल–भारतबीचको सम्बन्धमा नयाँ अध्याय सुरु हुन्छ । जसरी राम र सीताबीच घनिष्ठ सम्बन्ध भयो, त्यस्तै सम्बन्ध कायम गर्ने मौका यही हो ।” शाहले भने ।

विगतको तितो मिठो सम्बन्ध विर्सेर भ्रमण सफल बनाउनका लागि हृदयदेखि नै स्वागत गर्नुपर्ने उनको भनाई छ ।