मोदी–ओलीले गरे जनकपुरदेखि अयोध्यासम्म बस सेवा आरम्भ


वैशाख २८, काठमाण्डौ । सीताको जन्मस्थल जनकपुर र रामको जन्मस्थल अयोध्यासम्म शुक्रबारबाट बस सेवा सुरु भएको छ ।

जनकपुरधामको जानकी मन्दिरबाट अयोध्या जाने बस सेवाको प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हरियो झण्डा देखाएर संयुक्त रुपमा शुभारम्भ गरेका छन् ।

शुक्रबार जनकपुरबाट प्रस्थान गरेको बसलाई शनिबार उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले अयोध्यामा स्वागत गर्नेछन् । सीता र राम रामायणको प्रमुख पात्र हुन् जसलाई हिन्दूहरुले भगवानको रुपमा पुज्ने गर्दछन् ।

त्रेता युगमा जनकपुरका राजा जनककी छोरी सीताको बिहे भारत अयोध्याका रामसँग भएको थियो । त्यसको स्मरण गर्दै हरेक वर्ष रामनवमीको दिन अयोध्याबाट रामको जन्ती आउने र सीतालाई बिहे गरेर लैजाने परम्परा अझै कायम छ । रामको ससुराली जनकपुरबाट बस सेवा सुरु भएपछि जनकपुर पनि ‘रामायण सर्किट’मा औपचारिक रुपमा जोडिएको छ ।

अब हरेक वर्ष भारतको अयोध्यामा ‘जनकपुर महोत्सव’ र जनकपुरमा ‘अयोध्या महोत्सव’ गर्ने योजना छ । भारतको पर्यटन मन्त्रालयले भारतका १५ वटा धार्मिकस्थललाई जोड्ने उद्देश्यसहित रामायण सर्किटको अवधारणा ल्याएको थियो, जसमा नेपालको जनकपुरलाई पनि समेटिएको छ ।

राम जन्ती लिएर जनकपुर आएको र बिहे गरेर सीतालाई लिएर अयोध्या फर्किएको बाटोमा पर्ने तीर्थस्थलको विकास गर्ने उद्देश्य रामायण सर्किटको छ । बस सेवा शुभारम्भ गर्नुअघि जानकी मन्दिर परिसरमा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले उनले राजा जनक र सीताको भूमिमा पहिलो भारतीय प्रधानमन्त्रीको रुपमा पाइला टेक्न पाउँदा खुसी लागेको बताए ।

उनले आफूलाई यहाँ स्वागत गरेकोमा प्रधानमन्त्री ओलीसहित नेपाल सरकार, प्रदेश सरकार र नगर सरकारप्रति आभार व्यक्त गरे । उनले आफूलाई प्रधानमन्त्री बनाउने उत्तर प्रदेश, बनारस र त्यहाँका जनतालाई स्मरण गर्दै नेपाल र भारतीय जनताको अटुट सम्बन्ध अविस्मरणीय रहेको बताए ।

उनले यहाँबाट सुरु भएको बस सेवाबाट रामायण सर्किटमा पर्ने स्थानहरुको आर्थिक विकास एवम् नेपाल(भारतका जनताको सम्बन्ध अझै मजबुत हुने बताए ।