काठमाडौं, २८ वैशाख । नेपाल भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ‘अखण्ड, समृद्ध र सशक्त नेपाल’को आकांक्षामा भारतको समर्थन रहेको बताएका छन् ।
आफ्नो नेपाली समकक्षी केपी शर्मा ओलीसँगको भेटवार्तापछि आयोजित पत्रकार सम्मेलनमा मोदीले यस्तो बताएका हुन । ओली भने, ‘एक अखण्ड, समृद्ध र सशक्त नेपालका लागि सबैको आकांक्षाको भारत भरपुर समर्थन गर्छ ।’
उनले नेपालमा आफूलाई परिवारको सदस्यका रुपमा स्वागत भएको भन्दै खुसी व्यक्त गरे । नेपाली जनताले आर्थिक र सामाजिक परिर्वतनका लागि ओलीको नेतृत्व र भिजनमा विश्वास व्यक्त गरेको भन्दै उनले भने, संघीय लोकतान्त्रिक फ्रेमवर्कमा राष्ट्र निर्माण र विकासको फैसलाको म अभिनन्दन गर्छु ।
मोदीले नेपाललाई समुद्रसँग जोड्ने प्रधानमन्त्री ओलीको योजनामा सक्दो सहयोग गर्न तयार भएको बताए। ‘एक महिनाअघि ओलीजी दिल्लीमा आउँदा हामीले रेल, जलमार्ग र कृषिका बारेमा केही समझदारी गरेका थियौं, मलाई खुसी लागेको दुबै देशका अधिकारीले ती समझदारीमा धेरै काम अघि बढाइसकेका छन्,’ मोदीले भने, ‘रक्सौल-काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन छिटै हुनेछ।’
उनले पञ्चेश्वर लगायतका उर्जाका अन्य क्षेत्रमा हुने सहकार्यका बारे पनि छलफल भएको बताए। उनले भारतमा आफूले चलाएको ‘सबका साथ सबका’ विकास अभियान र प्रधानमन्त्री ओलीको ‘सम्वृद्ध नेपाल सुखी नेपाली’ एक अर्काका परिपूरक भएको बताए।
यता प्रधानमन्त्री ओलीले आफू र मोदीले नेपाल र भारतको साझेदारीका धेरै क्षेत्रमा कुराकानी गरेको र यसमा उल्लख्य प्रगति भएको बताए ।
नेपाल भारत सम्वन्धमा खुला सीमा विशेष भूमिका रहेको भन्दै यसलाई अवान्छित तत्वले दुरुपयोग गर्न नदिने बताए ।




प्रतिक्रिया