चितवन, ३० बैशाख : जिल्ला प्रहरी कार्यालय चितवनको प्रमुखबाट विदा भएर जान लागेका प्रहरी उपरिक्षक दिपक थापाले आफ्नो कार्यकालको उपलब्धी सार्वजनिक गरेका छन् ।
आज कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले अपराध नियन्त्रण,अनुसन्धान र जिल्लाको सुरक्षा मजबुत बनाउन सफल भएको दावी गरे । “उनले भने,मानवअधिकारको संरक्षण गर्दै गैरकानुनी र अपाराधजन्य क्रियाकलाप नियन्त्रण गर्ने काम मेरो कार्यकालमा भएको छ’, प्रहरीको कामबाट सेवाग्राही सन्तुष्ट छन् ।” यो अवधीमा प्रहरीले निष्पक्ष रुपमा जनताको काम छिटो छरितो बनाएको उनले बताए ।
प्रविधीमैत्री प्रहरी अनुसन्धान,प्रहरी हाम्रो टोलमा/प्रहरी मेरो साथी अभियानको निरन्तरता, ट्राफिक नियम पालनामा बृद्धी,भन्सार चोरी पैठारीमा, चन्दा आतंक, टेलीफोन धम्की जस्ता घटनामा र गुण्डागर्दी तथा लागुऔषध अपराधमा कमी आएको उपरिक्षक थापाको दाबी छ । उनले प्रहरीको सक्रियताकै कारण कालोबजारी,भूमाफिया र दलालहरुको समेत अन्त्य हुँदै गइरहेको बताए ।
प्रहरी संगठन सुदृढ बनाउन विभिन्न योजना र अवधारणका साथ काम गरिएको उनले जानकारी दिए । विभिन्न तहका निर्वाचन सम्पन्न गर्न प्रहरी संगठनले महत्वपूर्ण भूमिका खेलेको थापाको भनाई छ । उनले प्रहरी संगठनलाई मजबुत बनाउन विभिन्न क्षेत्रमा प्रहरी कार्यालयको भौतिक संरचना निर्माणको कामलाई तिव्रता दिइएको बताए ।
आर्थिक बर्ष २०७४/७५ को हालसम्म उत्कृष्ट काम गर्ने १ सय ११ प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको र ११ जनालाई कारवाही गरिएको थापाले जानकारी दिए । यो आबमा ५ जनाले नियमावली अनुसार अवकास लिएको र १७ जनाले घरायसी कारण देखाई राजिनामा दिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । प्रहरीको क्षमता अभिवृद्धी गर्न ५ सय ४३ प्रहरीलाई तालिम दिइएको छ । जिल्ला प्रहरी कार्यालयले यो अबधिमा अधिकांस मुद्धा पछ्र्याैट गरेको जनाएको छ ।




प्रतिक्रिया