खुशीसहितको सुखी नेपालीतर्फ बजेट केन्द्रित हुन्छ : अर्थमन्त्री खतिवडा

0
Shares

काठमाडौँ, ३१ वैशाख : अर्थमन्त्री डा युवराज खतिवडाले खुशीसहितको सुखी नेपालीतर्फ आगामी बजेट केन्द्रित हुने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७५/०७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथि भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले अबको प्राथमिकता संविधानको मर्मअनुसार समावेशी र समृद्ध नेपाल भएकाले क्षेत्रगत कार्यक्रमलाई धेरै जोड नदिइने स्पष्ट गर्नुभयो । उहाँले मौलिक हक र राज्यका निर्देशक सिद्धान्तबारे संविधानले भनेको बाटामा बजेट आउने भएकाले समृद्धिको अभियानमा सहयोगी बन्न सत्तापक्ष र प्रतिपक्षका सांसदलाई आग्रह गर्नुभयो ।

उहाँले विधिअनुसार बजेट र कार्यक्रममा सांसद र सम्बद्ध सबैको सहभागिता गराउन आफू तत्पर रहेको स्पष्ट गर्दै भन्नुभयो, “संघीय संरचनाअनुकूलको सन्तुलित बजेट आउनेमा म ढुक्क हुन आग्रह गर्छु, आर्थिक, सामाजिक र सांस्कृतिक सबै क्षेत्रलाई संयोजन गरेर जाने सरकारको तयारी छ । हामी मुलुकमा लगानीका लागि उत्तम वातावरण सिर्जना गर्न सचेता छौँ ।” सो विधेयकमाथि यही वैशाख २४ गतेदेखि छलफल चलेको थियो ।

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको निरन्तरताबारे सांसदले राखेको मागमा उहाँले जवाफ दिनुभएन । सभामुख कृष्णबहादुर महराले छलफलमा प्रस्तुत सबै विषय समेटेर सरकारलाई प्रतिवेदन दिइने जानकारी बैठकलाई गराउनुभयो । प्रतिनिधिसभाको अर्काे बैठक जेठ २ गते बिहान ११ बजे बस्नेछ । (रासस)