काठमाडौं १० जेठ । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आफ्नो सम्पत्ति विवरणमा साइकल पनि रहेको र त्यो पुरानो भएको पनि उल्लेख गरेका छन् । तर, मन्त्री पण्डितसँग एभरेष्ट बैंकमा २५ लाख र श्रीमती विमलाको नाममा एभरेष्ट बैंक र कृषि विकास बैंकमा ३० लाख रुपैयाँ छ । उनीहरूसँग १० तोला सुन र १५ तोला चाँदी छ ।
उनीसँग श्रीमतीको नाममा ललितपुरको भैँसेपाटीमा ४ आना जग्गा छ । उनले ०७२ मा पेस गरेको सम्पत्ति विवरणमा सर्लाहीको धनगढा–६ मा १२ कट्ठा जग्गा रहेको उल्लेख गरेका थिए । तर, त्यो अहिलेको सम्पत्ति विवरणमा छैन । सर्लाहीकै बसबरियामा चार बिघा पैतृक सगोलको जग्गा छ । उनीसँग विराटनगरमा एक कट्ठा जमिनमा पाँचकोठे पुरानो घर छ ।
गृहमन्त्रीको सम्पत्तिमा दुईवटा कुकुर पनि : एक कुकुर, एक कुकुर्नी, त्यो पनि छिमेकीबाट प्राप्त
गृहमन्त्री रामबहादुर थापा बादलले आफ्नो सम्पत्तिमा दुईवटा कुकुरसमेत भएको विवरण उल्लेख गरेका छन् । तीमध्ये एउटा कुकुर र एउटा कुकुर्नी भएको र छिमेकीले दिएको जानकारी उनले सरकारलाई दिएका छन् ।
तर, उनीसँग भएको यो एक मात्र सम्पत्ति भने होइन । श्रीमती नैनकला थापाको नाममा चितवनमा अंशबन्डाबाट पाएको एउटा घर छ । श्रीमतीकै नाममा ससुरालीबाट प्राप्त एक लाख रुपैयाँमा किनेको जग्गा छ । यस्तै उनीसँग ६ तोला सुन र ३ लाख नगद साथमा छ । यस्तै, दुईवटा बैंकमा तीन लाख ८० हजार बचत छ ।
यस्तै श्रीमतीको नाममा माथिल्लो तामाकोसी जलविद्युत् कम्पनीमा १४ हजार ६ सय रुपैयाँको १ सय ४६ कित्ता सेयर छ । कर्मचारी सञ्चयकोष कट्टी हुँदा आएको रकमबाट सेयर किनेको उल्लेख छ ।
महासेठ सर्वाधिक धनी मन्त्री : ४० करोडको सेयर, डेढ सय बिघा जमिन
सरकारले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार भौतिक योजना तथा यातायातमन्त्री रघुवीर महासेठ सबैभन्दा धनी देखिएका छन् । उनले सेयरमा मात्रै ४० करोडभन्दा बढी लगानी गरेको विवरण सरकारलाई बुझाएका छन् । ललितपुरको भैँसेपाटीमा ५८ सय वर्गफिट जग्गामा साढे २ तलाको घर तथा धनुषामा ६५ सय वर्गफिट, धनुषामै अर्को ८ बिघा र सिन्धुलीको कमलामाईमा ५ कट्ठा जग्गा छ । ललितपुरको नख्खुमा २ रोपनी १३ आना, ललितपुरकै धोबीघाटमा एक रोपनी ७ आना, जनकपुर उपमहानगरपालिकामा ९ कट्ठा जग्गा छ ।
सगोलमा धनुषाको दिगम्बरपुरमा ९६ बिघा, धनुषाकै पटेरबामा ३९ बिघा र अर्को १० बिघा १० कट्ठा जग्गा छ । श्रीमतीकै नाममा धनुषाको जनकपुरमा साढे २ तलाको पक्की घर छ । उनले २६ तोला सुन पैतृक र २५ तोला सुन दाइजोबाट प्राप्त भएको देखाएका छन् । उनीसँग साढे एक केजी चाँदी छ र अन्य विभिन्न महँगा गहना रहेको खुलाएका छन् । श्रीमती जुली महतोको नामबाट विभिन्न संघसंस्थामा करिब ४० करोड सेयर लगानी गरेका हुन् । मन्त्री महासेठले ७२ लाख नगद रहेको विवरण पनि बुझाएका छन् । बैंकबाट लिएको २३ करोड ऋणसमेत देखाएका छन् ।
मातृका यादवसँग पनि राजधानीमा करोडको जग्गा, १६ तोला सुन
उद्योगमन्त्री मातृका यादवले ललितपुरको चापागाउँमा एक करोड ५ लाखमा घडेरी खरिद गरेका छन् । त्यस्तै मन्त्री यादवले ०७४ मा मात्र १६ तोला सुन प्राप्त भएको उल्लेख गरेका छन् । विवाह र मुख देखाइमा माइती र आफन्तबाट उपहारका रूपमा उक्त सुन प्राप्त भएको उल्लेख गरेका छन् । यस्तै विभिन्न बैंकको खातामा उनीसँग ५ लाख ५२ हजार नगद छ । यसबाहेक उनकी श्रीमतीको नाममा बा.१४प ७३० नम्बरको गाडी छ । तर, गाडीको मोडल खुलाएका छैनन् ।
उनीसँग सिरहा र धनुषामा पनि जग्गा छ । उनले उक्त जमिनमध्ये केही पैतृक भएको र बाँकी स्वआर्जन तथा ऋण लिएर खरिद गरेको दाबी गरेका छन् । तर, शान्तिप्रक्रियामा आएसँगै माओवादीले सार्वजनिक गरेको सम्पत्ति विवरणमा यादवसँग नगद थिएन । उनले करिब २ लाखबराबरको घरघडेरी भएको उल्लेख गरेका थिए । करिब ३ लाखबराबरको सुन र चाँदी भएको उल्लेख गरेका थिए । उनी त्यसपछि ०६५ मा गठित माओवादीको नौमहिने सरकारमा वनमन्त्री भए । त्यसयता भर्खर मात्र लाभको पदमा छन् । तर, उनी करोडौँ सम्पत्तिका मालिक भएका छन् । नयाँपत्रिकाबाट




प्रतिक्रिया