काम नगर्ने ठेकेदारको तोडियो ठेक्का


काठमाडौं ११ जेठ ।
लामो समयसम्म ठेकेदारले काम नगरेपछि सिन्धुपाल्चोक हुँदै दोलखाको उपल्लो दक्षिणी भेग जोड्ने सडकको ठेक्का तोडिएको छ । सिन्धुपाल्चोकको मुडेबाट दोलखाको मेलुङ पुग्ने सडकको ठेक्का तोडिएको हो ।निर्माण व्यवसायीले काम नगरेपछि डिभिजन सडक कार्यालय चरिकोटले सोमबार एक सूचना प्रकाशित गरी १६ किमी सडकको स्तरोन्नतिको कामको ठेक्का तोडेको हो ।

०७१ असार ३० मा १० करोड ३१ लाखमा निर्माण सम्झौता भएको थियो । ठेकेदार कम्पनी ‘द कञ्चनजंघा लामाबिल्डर्स जेभी’ले कामको जिम्मा लिएको थियो । कम्पनीले तोकिएको समय अर्थात् ०७२ असार मसान्तसम्म समयमा काम सम्पन्न गर्न नसकेपछि २०७३ आसार मसान्तमा काम सक्ने गरी ठेक्काको म्याद थपिएको थियो । त्यसयता महाभूकम्प तथा इन्धन अभावको कारण देखाई ठेकेदारले म्याद थपका लागि माग गरेपछि सडक विभागले २०७४ साल असार ३० सम्म म्याद थप गरेको थियो । तर, दुईपटक म्याद थप गरिसक्दा पनि काम सन्तोषजनक नभएको र पछिल्लो एक वर्षदेखि ठेकेदार कम्पनी सम्पर्कमा नै नआएका कारण ठेक्का रद्द गरिएको डिभिजन सडक कार्यालय चरिकोटका प्रमुख डिभिजन इन्जिनियर अशोक तिवारीले बताए । कुनै पनि दाबी भुक्तानी भए प्रमाणसहित उपस्थित हुन निर्माण व्यवसायीलाई सूचनामार्फत आग्रह गरिएको कार्यालयले जनाएको छ ।

ठेक्का सम्झौताअनुसार ठेकेदारले सडक स्तरोन्नतिअन्तर्गत १६ किलोमिटर सडकमा कल्भर्ट, कजवे, सोलिङ तथा ग्राभेललगायतको काम गर्नुपर्ने हुन्छ । तर, हालसम्म ठेकेदारले सामान्य सडक विस्तारका लागि माटो कटिङको काम र वाल लगाउनेबाहेक अन्य काम नगरेको स्थानीय गुनासो गर्दछन् ।

अब गाउँपालिका आफैँले बनाउने
सैलुङ गाउँपालिका अध्यक्ष भरत दुलालले सडकको ठेक्का तोडिएकाले अब गाउँपालिका आफैँले सडक सुधारको काम गर्ने निर्णय भएको बताएका छन् । गाउँपालिकाले समेत उक्त सडक निर्माण चाँडै सक्न ताकेता गर्दै आएको थियो । यो सडक निर्माणपछि सैलुङ गाउँपालिकाका सबै वडा, मेलुङ गाउँपालिकाका पाँचवटा वडा र रामेछापको दोरम्बा गाउँपालिकाका तीनवटा वडाका स्थानीय लाभान्वित हुनेछन् । नयाँपत्रिकाबाट