झाडापखाला फैलँदा एकै दिन ४ सय बढी बिरामी, खानेपानी मुहान प्रदूषित भएको आशंका


काठमाडौं १३ जेठ ।  शान्तिनगर गाउँपालिकाको वडा नं. ३ र ४ मा झाडापखाला फैलँदा शनिबार ४ सयभन्दा बढी बिरामी भएका छन् । एक्कासि बिरामीहरूको चाप बढेपछि उपचारमा समस्या भएको शान्तिनगर स्वास्थ्यचौकी प्रमुख हरि पुनले बताए । राति अबेरसम्म पनि बिरामी आउने क्रम जारी रहेको र बिरामीहरूको संख्या बढ्न सक्ने उनले जानकारी दिए । दाङको शान्तिनगर स्वास्थ्यचौकीमा झाडापखालाका बिरामीहरूलाई भुइँमै सुताएर उपचार गराइँदै । बिरामी धेरै भएका कारण भुइँमै सुताएर उपचार गराइएको छ ।

अधिकांशको स्वास्थ्यचौकीमा उपचार भइरहेको र गम्भीर ४० जनालाई तुलसीपुरस्थित राप्ती अञ्चल अस्पतालमा रिफर गरिएको पुनले बताए । शनिबार बिहानदेखि सुरु भएको बिरामीको चाप रातिसम्म बढेपछि उपचारमा अन्य स्वास्थ्यचौकीहरूको पनि सहयोग लिइएको छ । उपचारमा शान्तिनगर स्वास्थ्यचौकी प्रमुख पुन, उपप्रमुख घनश्याम पाण्डेका साथै धनौरी स्वास्थ्यचौकी प्रमुख हरिशकुमार डाँगीलगायत १० जनाको टोली गाउँमै खटिएको छ । विद्युतको समस्या हुँदा राति गाउँमा उपचार गर्न कठिनाइ भइरहेको प्रमुख पुनले बताए । रिफर गरिएका बिरामीहरूको उपचारमा अञ्चल अस्पताल तुलसीपुरका चिकित्सकहरू खटेका छन् ।

एकै दिन एकाएक बिरामीहरूको चाप बढेपछि स्वास्थ्यकर्मीहरू पनि अत्तालिएका थिए । ‘बिहान केही बिरामी आएका छन् भनेर स्वास्थ्यचौकी आएको बिरामीको चाप थामिनसक्नुभयो । यस्तो समस्या कहिल्यै देखेको थिइनँ,’ पुनले भने, ‘दिनभर बिरामी थपिए । एकछिन पनि खाली भएन । सबै बिरामीमा झाडापखाला देखिएको छ । एउटैलाई दुई–तीनवटा स्लाइन चढाउनुपरेको छ ।’

झाडापखालाबाट वडा नं. ३ का पातेटाकुरा, गनारी, गाहा टोल, अँधेरे, भल टोल, खत्री टोल र चिराघाट तथा ४ का एकली, कजेरी र हिरापुर गाउँहरू बढी प्रभावित भएका छन् । दिउँसोदेखि एम्बुलेन्स व्यवस्था गरी बिरामीलाई स्वास्थ्यचौकी र अस्पताल पुर्‍याउने व्यवस्था मिलाइएको थियो । झाडापखाला फैलिएको जानकारी पाएपछि तत्कालै प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ र निमित्त जनस्वास्थ्य प्रमुख प्रकाशकुमार योगीलगायतको टोली थप औषधि र स्वास्थ्यकर्मी लिएर शान्तिनगर पुगेको थियो । जिल्ला समन्वय समिति प्रमुख जितेन्द्रमान नेपाली पनि बिरामीहरूको अवस्था बुझ्न गाउँमै पुगेका थिए ।

दूषित पानीका कारण झाडापखाला फैलिएको आशंका गरिएको छ । खानेपानीको मुहानमा प्रदूषण भएका कारण झाडापखाला फैलिएको प्रारम्भिक अध्ययनबाट देखिएको स्वास्थ्यकर्मीहरूको भनाइ छ । जनस्वास्थ्यको टोलीले बिरामीको दिसा जाँच गरी समस्याको प्रारम्भिक अवस्था बुझेको छ । जाँचका क्रममा फोहोर पानीकै कारण झाडापखाला फैलिएको पाइएको जनस्वास्थ्यका प्रयोगशाला प्राविधिक परशुराम पोख्रेलले बताए । ‘दिसामा ब्याक्टेरिया देखिएको छ । कस्तो खालको ब्याक्टेरिया भन्ने यकिन गर्न सकिएको छैन,’ उनले भने, ‘पानीमै फोहोर भएका कारण रोग फैलिएको देखिन्छ । उपचार मात्रै गरेर नियन्त्रणमा आउने अवस्था देखिँदैन । पानीको मुहान नै शुद्धीकरण गर्नुपर्छ ।’

केही बिरामीहरूको दिसा जाँच गरी समस्या पत्ता लगाउने प्रयास गरेको राप्ती अञ्चल अस्पताल तुलसीपुरका डा. महेश कर्माचार्यले बताए । जाँचका क्रममा खानेकुरामै समस्या देखिएको उनले बताए । ‘एकैसाथ यति धेरै बिरामी हुनु सामान्य कुरा होइन । तत्काल कुनै भोजभतेर नभएकाले विषाक्त खानाको शंका छैन,’ उनले भने, ‘खानेपानीमै समस्या भएको हुन सक्छ । यसको खास कारण यकिन हुन बाँकी नै छ ।’

खानेपानीको मुहानमा शुद्धीकरण नगरी पानी वितरण गर्दा नै प्रकोप फैलिएको शान्तिनगर गाउँपालिका प्रमुख कमानसिंह डाँगीले बताए । माइलीपानी खानेपानी मुहानबाट पानी नपुगेपछि केही दिनअघि सिधै सिमलगैरा मुहानको पानी वितरण गरिएको थियो । उक्त पानी शुद्धीकरण नगरी धारामा वितरण गरिएका कारण समस्या उत्पन्न भएको डाँगीले बताए । ‘केही दिनअघि पानी पर्‍यो । त्यसबेला भलपानी मुहानमा मिसियो,’ उनले भने, ‘धमिलो पानीसँगै ट्यांकीमा जम्मा भएको फोहोर धारामा पुगेपछि झाडापखाला फैलियो ।’ कान्तिपुरबाट