काठमाडौं १४ जेठ । सरकारले भर्ना अभियानमा जोड दिइरहेका बेला अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा विद्यालयमा विद्यार्थी टिकाउनु चुनौतीपूर्ण देखिएको औंल्याइएको छ । सर्वेक्षणले आधारभूत तह (कक्षा ८) पनि पास नगरी पढाइ छाड्नेको संख्या उच्च रहेको जनाएको छ ।
८ कक्षा पास नगरेकालाई सरकारले दिने सेवाबाटै वञ्चित गर्ने गरी शिक्षाको अधिकारसम्बन्धी ऐन मस्यौदा भइरहँदा सर्वेक्षणले भने ७७ प्रतिशत विद्यार्थी मात्रै ८ कक्षासम्म टिक्ने गरेको देखाएको छ । ७ प्रतिशतले कक्षा दोहोर्याउने गरेको र ४ प्रतिशतले बीचैमा पढाइ छाड्ने गरेको देखिएको छ ।
‘विद्यालय तहमा विद्यार्थी टिकाइराख्न थप प्रयास गर्नुपर्नेछ,’ प्रतिवेदनमा भनिएको छ । कक्षा ८ सम्मलाई अनिवार्य शिक्षा भनेर संविधानमै उल्लेख गरिए पनि उक्त तह उत्तीर्ण नगरी पढाइ छाड्ने क्रम नरोकिएको हो । यसले सरकारको लक्ष्य हासिल गर्नै चुनौती बन्ने देखिन्छ ।
शैक्षिक सत्र २०७४ मा कक्षा १ देखि ५ मा भर्नादर ९५ प्रतिशतभन्दा माथि देखिएको छ । कक्षा ६ देखि ८, ९ र १० तथा ११/१२ मा उक्त दर क्रमश: घटदै गएको छ । कक्षा ६ देखि ८ मा औसत भर्नादर ८७ प्रतिशत छ ।
माध्यमिक परीक्षा एसईईमा सम्मिलित परीक्षार्थीमध्ये ४१ प्रतिशतले १ दशलब ९५ जीपीएभन्दा कम अंक प्राप्त गरेकाले शिक्षा क्षेत्रको लगानीको उचित प्रतिफल प्राप्त हुन नसकेको प्रतिवेदनको ठहर छ ।
प्रदेशगत रूपमा सबभन्दा बढी प्रदेश २ मा आधारभूत तह पूरा नगरी कक्षा छाड्ने बालबालिकाको संख्या बढी छ । कक्षा ५ उत्तीर्ण गरी कक्षा ८ पुरा नगर्दै पढाइ छाड्ने विद्यार्थीको संख्या पनि प्रदेश २ मै बढी पाइएको हो । प्रदेश ५ र कर्णाली प्रदेशमा पनि कक्षा ५ उत्तीर्ण गरेका १२ प्रतिशतभन्दा बढी विद्यार्थी ६ कक्षामा भर्ना भएका छैनन् ।
उपल्लो तहमा विद्यार्थीको भर्नादर पनि क्रमश: घटदै गएको तथ्यांक छ । कक्षा ११/१२ मा भर्नादर २२ प्रतिशत मात्रै छ । प्रतिवेदनमा भनिएको छ, ‘एसईई परीक्षा पास भएर भर्ना हुने विद्यार्थीको संख्या नगण्य छ ।’ कक्षा १२ को परीक्षा दिएका करिब ५० प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण हुने गरेका छन् ।
विद्यालय शिक्षा कक्षा १ देखि १२ मा भर्ना भए पनि बीचैमा कक्षा छाडेर, अनुत्तीर्ण भएर र विविध कारणले पढाइ पूरा नगर्ने विद्यार्थीको संख्या धेरै छ । भर्ना भएकामध्ये १० कक्षासम्म टिकाउ दर ५७ प्रतिशत र कक्षा १२ सम्म १७ प्रतिशत मात्रै छ ।
विद्यार्थीले बीचैमा कक्षा छाड्ने प्रवृत्तिको अन्त्य गर्न अध्ययन थालिएको शिक्षा विभागका निर्देशक बाबुराम पौडेलले बताए । उनले भने, ‘गत वर्ष तराईका जिल्लाहरूमा अध्ययन गर्दा बीचैमा पढाइ छाड्नुको ११/१२ वटा कारण भेटियो । त्यसमध्ये मुख्य कारण गरिबी हो ।’
सामुदायिक विद्यालयहरूमा विद्यार्थी टिकाइराख्न अभिभावक सहायता र दिवा खाजा कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको उनले बताए । ‘भर्ना अभियानसँगै बीचैमा स्कुल छाड्ने कारण पत्ता लगाएर समाधान गर्दै जान्छौं,’ उनले भने ।
कान्तिपुरबाट




प्रतिक्रिया