काठमाडौं १६ जेठ ।
जिल्ला अस्पताल खाँदबारीमा कार्यरत कुसाई मरिकले तलब नपाएको आठ महिना बित्यो । अस्पताल खाँदबारी नगरपालिकामा समायोजन भएपछि तलब नपाएको उनले गुनासो गरेका छन् ।
मरिकजस्तै करारमा कार्यरत आठ कार्यालय सहयोगीले ८ महिनादेखि तलब नपाएका हुन् । मंसिर महिनाबाट तलब नपाएको उनले बताए । तलब नपाएपछि मंगलबार उनीहरूले अस्पतालको सरसफाइ गरेनन् । नयाँ करारपत्र नबनेसम्म काम रोक्ने चेतावनी दिएका ती कर्मचारीले नगरपालिका, जिल्ला स्वास्थ्य र जिल्ला प्रशासनमा ध्यानाकर्षण पत्र बुझाएका छन् ।
८ महिनादेखि तलब दिने भन्दै अल्झाएर राखे, करार पत्र पनि आएन, उनले भने, ‘तलब नआएपछि समस्या भयो ।’ पसलेले पनि उधारो सामान दिन छाडे, उनले भने, ‘आठ महिनादेखि उधारो पनि तिर्न सकेको छैन ।’
पटकपटक करारपत्रका लागि मौखिक जानकारी गराउँदा बेवास्ता गरेको उनले बताए । प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले छिट्टै नयाँ करारपत्र उपलव्ध गराउने र तलब उपलब्ध गराउने भनेपछि उनीहरू काममा फर्किएका छन् । उनीहरूले मंगलबार मध्याहन १२ बजेसम्म काम ठप्प पारेका थिए ।
प्रेम पराजुली, नरमाया ठटाल, बिनोद कटुवाल, मिना तामाङ,सीता कार्की, कमला लामा र दलमान राईले एक साताभित्र तलब र नयाँ करारपत्र उपलव्ध नभए काम नगर्ने बताए । हाम्रो तलब पाए हुन्थ्यो, सधैँ करार थप्ने कुरामा अल्झाउँछन्, उनीहरूले भने, ‘करारमा नराख्ने भए किन काम लगाउनु ।’ आश्वासनलेमात्रै घरमा चुलो नबल्ने उनीहरूले बताए ।
कान्तिपुरबाट




प्रतिक्रिया