३९ घण्टा सुरुङभित्र थुनिँदा…

0
Shares

काठमाडौं ३ असार । ‘एक्कासि गड्याङगुडुङ गर्दै पहाड नै सुरुङको मुखतिर झर्‍यो । हामी अँध्यारो सुरुङमा फसिसकेका थियौं । चारैतिर अँध्यारो थियो, एकअर्कालाई छाम्यौं, भाग्यवश हाम्रो शरीरमा ठूलो चोट लागेको रहेनछ’, भारत झारखण्डका ५५ वर्षीय बुधन मुण्डाले भने, ‘मुटु चिसो भयो । मनमा अब जिन्दगी यत्तिकै रहेछ भन्ने भाव मात्र आयो । परिवार र आफन्तको याद आयो । भगवानलाई पनि सम्झिएँ ।’

बुमर (सुरुङ मार्ग खन्न प्रयोग गरिने मेसिन) का अपरेटर मुण्डासहित दुई भारतीय र दुई जना नेपाली संखुवासभाको अरुण तेस्रो जलविद्युत् परियोजनाको सुरुङभित्र चारजना थुनिएका थिए । बुधन मुण्डाको नेतृत्वको टोली शुक्रबार राति पौने ९ बजे तीस मिटर सुरुङभित्र फसेको थियो । ब्लास्टिङ गरेको ढुंगाको थुप्रो हटाउँदै टोली सुरुङभित्र पस्दा घटना भएको थियो ।

सुरुङमा थुनिएको ३९ घण्टापछि उद्धार गरी निकालिएका मुण्डाले घटनाको अनुभूति सुनाउँदै भने, ‘एक्कासि अँध्यारो भएर सुरुङको मुख बन्द भएपछि हामी अत्तालियौं । हावा छिर्ने ठाउँसमेत थिएन । सुरुमा सासै रोकिएझैं भयो । त्यही प्वालभित्र अब थुनिएर मरिने भइयो भन्ने लागिरह्यो ।’

मुण्डाले पहराभित्रको निस्पट्ट अँध्योरामा पनि बाँच्ने आशा चाहिँ नमारेको सुनाए ।

‘एकातिर सुरुङभित्रै थुनिएर जीवन सकिने भयो भन्ने त्रासले काँपिरहेका थियौँ, अर्कोतिर बाहिर निस्केर फेरि परिवारसाथ जीवन जिउने झिनो आशा पनि थियो । दोहोरो तनावबीच ३९ घण्टा बितेछन्’, उनले भने, ‘चारै जनाले एकअर्कालाई अँगालो हाल्यौँ । बाँचे सँगै मरे सँगै भन्दै उद्धारकर्मी आउलान् कि भनेर पर्खिरह्यौँ । बाहिरबाट फेरि गड्याङगुडुङ आवाज सुन्न थालेपछि केही राहत मिल्यो । त्यो आवाज पहिरोको थिएन । त्यो आवाज उद्धारकर्मीको हो भन्ने हामीले अनुमान लगायौँ ।’

सुरुङभित्रै बगेको पानी मात्र खाएर उद्धारको पर्खाइमा बसेको सुनाउँदा मुण्डाको गला अवरुद्ध बन्यो ।

चारै जनाले सुरुङभित्र बगेको पानीको भरमा ३९ घण्टा बिताएका थिए । बाहिरबाट उद्धारको प्रयत्न भइरहँदा आएको आवाजले भने बाँच्ने रहेछौ भन्ने आशा बढ्दै गएको मुण्डाले सुनाए । उनले भने, ‘सुरुङमार्गको बाहिरी भागबाट थोरै प्वाल परेपछि बाहिरबाट हावाभित्र पस्न सुरु भयो, त्यसपछि सास फेर्न समेत सहज भयो । नत्र त बेलाबेला सास लिनै कठिन भएझैं भएको थियो ।’

प्वाल बनेपछि डोरीको सहयोगले चारैजनालाई उद्धारकर्मीले सकुशल बाहिर निकालेका थिए ।

मुण्डासहित सिउना गाउँपालिका-४, कालीकोटका कामदारहरू ३२ वर्षीय प्रदीप शाही, चन्दननाथ नगरपालिका-१ जुम्लाका ४४ वर्षीय प्रेम परियार र भारत बिहारका पम्प सहयोगी ४५ वर्षीय नन्दकिशोर सुरुङमा थुनिएका थिए । आइतबार बिहान ११ बजे उनीहरूलाई उद्धार गरी सुरुङबाहिर निकालिएको हो । सुरुङ मार्गभन्दा करीब ५० मिटरमाथिबाट पहिरो खस्दा उनीहरू जमिनभित्र फसेका थिए ।

शनिबार बिहानैदेखि उद्धार सुरु भए पनि दिनभरि पहिरो खसेका कारण सुरक्षाकर्मीलाई सकस भएको थियो । उद्धारलाई गति दिन आइतबार रौताह कम्पनीको स्काभेटर थप गरिएको थियो ।

प्रेम परियार र प्रदीप शाहीलाई आइतबार नै सदरमुकाम खाँदबारी ल्याइएको छ । परियारको ढाडमा समस्या देखिएकाले थप स्वास्थ्य परीक्षणका लागि सदरमुकाम ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्याम सारु मगरले जानकारी दिए । ‘उद्धारपछि चार जनाको स्वास्थ्य परीक्षण गरियो, अवस्था सामान्य नै छ,’ मगरले भने । सामान्य अवस्थामा रहेका दुई भारतीय नागरिकलाई आरामका लागि उनीहरूकै क्याम्पमा राखिएको मगरले बताए ।

पहिरोेका कारणा परियोजनाको एक पुलमा पूर्णरूपमा क्षति पुगेको छ तर क्षति विवरण आउँन बाँकी छ । परियोजनाले मकालु गाउँपालिका-५ मा रहेको बाँध निर्माण स्थलमा हाल सुरुङ मार्गसहित पूर्वाधारको काम भई रहेको छ ।
अन्नपूर्णपोष्टबाट