काठमाडौं, १३ असार । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले भारत र चीन दुवै देशबाट रेल ल्याउनेबारे समझदारी भएकोले कुन पहिले आउँछ भन्ने कुरा आफूहरुमै भर पर्ने बताए ।
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भने,‘आर्थिक उन्नती खोज्ने सरकारको सोच छ, प्रधानमन्त्रीको चीन भ्रमणको दौरान केरुङ हुँदै काठमाडौंसम्म रेल ल्याउने समझदारी बनेको छ, त्यसैगरि रक्सौलदेखि काठमाडौंसम्म भारतीय रेल आउने समझदारी भएको छ, कुन रेल पहिले आउँछ भन्ने कुरा हामीमै भर पर्छ।’

आफूहरु देशमा प्रशस्तै लगानी आओस् भन्ने पक्षमा रहेको बताउँदै प्रधानले भने,‘प्रधानमन्त्रीको मुलुक समृद्ध बनाउने सपना पूरा होस्, सरकारलाई हरेक काममा सहयोग गर्न हामी निजी क्षेत्र सँधै तयार छौं, आज, भोलि र पर्सी सँधै हामी सरकारलाई साथ दिन्छौं, सरकारले पब्लिक/प्राईभेट पार्टनरसिपको नीति लिएको छ, यो खुशीको कुरा हो।’
चिनियाँ कम्पनीहरुसँग हाईड्रोपावरबारे भएका सम्झौताहरु कार्यान्वनयको लागि सरकारले उचित कदम चाल्नुपर्ने समेत उनको सुझाव छ । उनले भने,‘यी सबै सम्झौताहरु दुई देशका सरकारमा भर पर्छ, सम्झौताहरु कार्यान्वयन हुनेमा हामी आशावादी छौं।’
उनले आफूहरुको नीति नै कमाउने ठाउँमा जम्प गर्ने भएकोले वर्तमान सरकारसँग धेरै नै आशा लिएको सुनाए । उनले भने,‘रेल र पानीजहाजपनि चलाउनुपर्छ, तर अहिले कृषिमा आत्मनिर्भर बनाउनुपर्छ भन्ने मेरो धारणा हो, किनकी कृषिमा लगानी गर्दा १२० दिनमै यसले प्रतिफल दिन्छ।’
कृषिमा आधुनिकीकरण गर्न आवश्यक रहेको सुनाउँदै प्रधानले अब जमिनको चक्लाबन्दी गरेर सरकारले २५ विघादेखि लिएर ४ वा ५ विघासम्म जमिन दिएर हामीलाई आह्वान गर्नुपर्छ, हामी कृषिमा देशलाई आत्मनिर्भर बनाउँछौं।’ यसले व्यापार घाटालाई समेत प्रतिस्थापन गर्न सकिने उनको विश्वास छ ।
उनले भने,‘अहिले हाम्रा जमिनहरु खाली छन्, युवाहरु विदेशिएका छन्, रेल र पूर्वाधारको लागि लगानी हेभ्भी चाहिन्छ, तर कृषिको लागि चाहिँदैन्।’
उनले सरकारलाई बिजनेश एटिट्युट लिनको लागि पनि सुझाव दिए । सरकारको काम आफूहरुले हेरिरहेकोले अझै केही समय अझै नतिजाको लागि कुर्नुपर्ने उनको भनाई छ । उनले भने,‘अहिले नै सरकारबाट निराश हुनुपर्ने अवस्था छैन, काम गराई हेर्नै बाँकी छ।’




प्रतिक्रिया