कृषक सचेत नभएसम्म टुक्रे उत्पादन प्रणालीबाट अगाडि बढ्न सकिदैन : चक्रपाणि खनाल


चक्रपाणि खनाल, मन्त्री, कृषि, सहकारी तथा भूमि व्यवस्थापन
वर्षा याममा हुने धान खति नेपालको सबैभन्दा धेरै गरिने खेति हो । नेपालमा हरेक वर्ष असार १५ गतेलाई धान दिवसको रुपमा मनाउने गरिन्छ । तर सिंचाईको अभावका कारण समयमा नै धान खेति हुन सकेको छैन । यस वर्ष पनि असार १५ सम्म करिब १३ प्रतिशत मात्रै रोपाई सकिएको छ । समग्र कृषिप्रणाली पनि परम्परागत भएका कारण उत्पादन बढ्न सकेको छैन । यिनै विषयमा कन्द्रित रहेर १५ औँ धान दिवसको अवसरमा कृषि, सहकारी तथा भूमि व्यवस्थापन मन्त्री चक्रपाणि खनालसँग ऋषि धमलाले कुराकानी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

आज धान दिवस, तर सिचाईको अभावका कारण धान रोपाई हुन सकेको छैन । कृषकको समस्या थाहा छ तपाईलाई ?
सिंचाईको समस्या त छ । कृषि मन्त्रालयले सिंचाईको व्यगस्था गर्नका लागि व्यवस्थित योजना बनाइरहेका छौँ । सिंचाई मन्त्रालयले पनि कृषि मन्त्रालयसँग समन्वय गरेर योजना बनाइरहेको छ । तर ठोस कार्ययोजना बनिसकेको छैन । यस विषयमा छलफल चलिरहेको छ । अर्को वर्ष सिंचाईलाई हामीले महत्वका साथ अगाडि बढाउँछाँै ।

कृषि प्रधान देशको कृषि मन्त्रीले किसानहरुको समस्या समाधान गर्न सक्नुहुन्छ ?
अहिलेको सरकारको प्राथमिकतामा कृषि क्षेत्र परेको छ । केही राम्रा कामको सुरुवात पनि गरिसकेका छौँ । धान दिवसको सन्दर्भमा के भन्छु भने, यस वर्ष वर्षात्को मौसमले राम्रो संकेत गरेको छ । हामीले पनि धान उत्पादन बढाउने कुरालाई राष्ट्रिय नाराको रुपमा अगाडि बढाउँछौँ ।

सम्बन्धित समाचारहरु :

धान दिवस, औपचारिक कार्यक्रम धेरै, रोपाई भने १३ प्रतिशत मात्रै

‘कृषि उत्पादन दोब्बर बनाइने’ : मन्त्री खनाल

कृषि पेशालाई सम्मानित पेशाका रुपमा लिनुपर्छ : मन्त्री खनाल

जमिनको वर्गिकरण गछौँ : मन्त्री खनाल

कृषि क्षेत्रको आधुनिकीकरणका लागि भूमि बैंक स्थापना : मन्त्री खनाल

सरकारले धान विज्ञको सुझाब मान्ने हो धने उत्पादन बढ्छ : धान विज्ञ बस्नेत

तर यस वर्ष असार १५ गतेसम्म जम्मा १२ प्रतिशत मात्रै रोपाई सकिएको छ । यो अवस्थाले धान उत्पादन कसरी बढ्छ ?
कूल धान उत्पादनको ७० प्रतिशत जति तराई मधेश क्षेत्रमा उत्पादन हुन्छ । सिंचाईको समस्या पनि मधेशमै छ । त्यसकारण सिंचाईको समस्या छ भन्ने कुरामा त दुई मत नै भएन । तर यो समस्या समाधानका लागि मन्त्रालय गम्भीर छ । अहिले केही ठूला सिंचाई आयोजनाहरु सम्पन्न हुने क्रममा छ । त्यसैगरी अस्थायी ढंगले अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजनाहरु बनाइरहेका छौँ । अबको दुई वर्षभित्र अल्पकालिन योजनाअन्तरगतको पोखरी संरक्षण गरेर सिंचाईको व्यवस्था गर्छौँ ।

नेपालमा अझै पनि परम्परागत खेति प्रणाली गरिन्छ । यसलाई परिवर्तन गर्नका लागि के योजना बनाउनुभएको छ ?
तपाईले भनेको कुरा ठीक हो । तर नेपालको भौगोलिक बनावटका कारण परम्पारगत खेति भइरहेको छ । पहाडि क्षत्रेमा हलो र गोरुको प्रयोगबाट नै खेति भइरहेको छ । सबै ठाउँमा ट्याक्टरको प्रयोग सम्भव छैन । त्यसकारण अब खेतियोग्य जमिनलाई चाक्लाबन्दी गरेर ट्याक्टर पुर्याउन सक्ने बनाउनुपर्छ । किसानहरुले नै एकअर्कामा सहकार्य गरेर जमिन सम्याउनुपर्छ । सामुहिक खेति प्रणालीमा जाने हो भने आधुनिक प्रविधीको प्रयोग गर्न सकिन्छ । जमिनलाई कित्ताकाट गर्ने क्रम पनि रोक्नुपर्छ । तर कृषकहरु पनि जमिनलाई चाक्लाबन्दी गर्ने, सामुहिक खेति गर्ने र कित्ताकाट रोक्ने कुरामा सहमत भइसकेका छैनन् । यो अवस्थामा टुक्रे उत्पादन प्रणालीबाट अगाडि बढ्न सकिदैन । तर पनि हामीले कृषिमा आधुनिकीकरणलाई प्राथमिकतामा राखेका छौँ ।