सकिएन पाटन कुम्भेश्वरको पुनःनिर्माण

0
Shares

ललितपुर । भूकम्प गएको साढे तीन वर्ष बित्दासमेत पाटनको कुम्भेश्वर मन्दिरको पुनःनिर्माण सकिएको छैन । ठेकेदारले विभिन्न बहानामा ढिलाइ गर्दा काम नसकिएको पाटन स्मारक तथा दरबार हेरचाह कार्यालयका प्रमुख काजीमान प्याकुरेलले बताउनुभयो । उहाँले भन्नुभयो, “कहिले के बहाना देखाउने त कहिले ठेकेदार सम्पर्कमा नआउने हुँदा काम अघि बढ्न सकेको थिएन ।”

ठेकेदारसँग गत असारसम्ममा काम सक्ने गरेर सम्झौता भए पनि विभिन्न समस्या देखाएकाले एक वर्ष थप गरिएको जानकारी दिँदै उहाँले भन्नुभयो, “सरासर काम गरे अब एक वर्षमा सकिन्छ ।”

मन्दिरको कति भागसम्म पुनःनिर्माण गर्ने भन्ने विवाद र सुरक्षा प्रबन्धका कारणले गर्दा मन्दिर लामो समयसम्म पुनःनिर्माण हुन सकेको थिएन । कतिपयले त मन्दिरको माथिल्लो तलासम्म नै पुनःनिर्माण गर्नुपर्ने माग गरेका थिए ।

विज्ञले भने मन्दिरको सबै भाग भत्काउन नपर्ने सल्लाह दिएकाले आवश्यक ठाउँमा मात्रै काम भइरहेको प्रमुख प्याकुरेलले बताउनुभयो । मन्दिर निर्माण अवधिभर यहाँ रहेका महत्वपूर्ण सामानको सुरक्षाका बारेमा स्थानीयवासीले चासो देखाएका थिए ।

प्रहरीले नियमित गस्ती गरी सुरक्षा दिने सहमति भएपछि काम शुरु भएको थियो । उपत्यकामा रहेका दुईवटा मात्रै पाँच तले मन्दिरमा कुम्भेश्वर मन्दिर पनि एक हो । राजा जयस्थिति मल्लले मन्दिर बनाउन लगाएका थिए ।

मन्दिरमा सबै सोमबारका साथै विशेष गरेर साउनको सोमबार भक्तजनको भीड हुने गरेको छ । जनैपूर्णिमाका दिनमा टाढाटाढाबाट समेत यहाँको दर्शनका लागि भक्तजन आउने गरेका छन् । रसुवाको गोसाइँकुण्डबाट यहाँको पोखरीमा पानी आएकोे विश्वास गरिन्छ । रासस