पहिलोपटक ओलीविरुद्ध यसरी खनिए प्रकाशचन्द्र लोहनी, लगाए गम्भिर आरोप (भिडियोसहित)


काठमाडौं, ६ असोज । एकीकृत राप्रपा (राष्ट्रवादी) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले वर्तमान सरकारले यो ७ महिनामा सुशासन, विकास र समृद्धिको अनुभुति गराउनुको साटो मुलुकमा भ्रष्टाचारको जग बसालेको गम्भिर आरोप लगाएका छन् ।

शनिबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम जनता जान्न चाहन्छनमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो गम्भिर आरोप लगाएका हुन् । उनले भने,”राजनीतिक घट्नाक्रमको कुरा गर्दा यो सरकारसँग दुई तिहाई छ, अथवा अहिले बलियो सरकार छ । अरिंगाल सिद्धान्त र माउरी सिद्धान्तमा अडेको छ ।”

जनताले आशा गरेको कुरा सरकारले गर्न नसकेको उनको आरोप छ । यद्धपी उनले प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा गएको विषयमा सम्बन्धलाई सामान्यीकरण गर्नु राम्रो भएको प्रतिक्रिया दिए । उनले भने,”दुई देशबीचको सम्बन्ध सामान्यीकरण गर्नु त राम्रो कुरा हो ।”

७ महिनाको कार्यशैलीलाई समिक्षा हेर्दा ? अहिलेनै असफल वा सफल भन्न नमिल्ने उनको तर्क छ । तर उनले वर्तमान सरकारसँग ५ वर्षको म्याण्डेट भएकोले यो सुरुवाती चरणमा जति कामहरु हुनुपर्नेथियो त्यतिचाहीँ नभएको ठोकुवा गरे ।

अध्यक्ष लोहनीले ३३ केजी सुन काण्ड कहाँ पुग्यो ? प्रधानमन्त्रीले फाईल किन निकाल्नुभएन ? खोई त ? भन्दै जंगिएर प्रश्नसमेत तेर्साएका थिए । उनले भने,”अहिले त ३३ केजी सुन प्रकरणमा पनि ठूलै माछा मुछिने डरले होला, फाईल नै निकालिएको छैन । हामी त जनता हौं, हामीले जान्न पाउनुपर्छ । यो प्रकरण कहाँ पुग्यो सरकारले भन्नुपर्छ ।”

त्यस्तै उनले एनसेलसँग लिनुपर्ने ४० अर्ब दाम किन यो सरकारले छोड्न लागेको भन्दै कडा प्रश्न गरे । उनले थपे,”उहाँहरुले यत्रो ठूलो रकम किन छोड्न लाग्नुभएको छ ? लुट गर्ने हो त ? ”

एनसेलमा भएको भ्रष्टाचार र लुटको विषयमा आफ्नो पार्टीले जुलुस निकालेको पनि उनल् सुनाए । उनले भने,”त्यसैले प्रधानमन्त्रीले भ्रष्टाचार हुन दिन्न र रोक्छु भन्नु झुठो हो । सुन प्रकरणमा छानबिन कमिटिले रिपोर्ट दिएपछि प्रधानमन्त्रीकोमा किन थन्किएर बसेको छ ? ”

यद्धपी उनले प्रधानमन्त्री वा सरकारले गरेका हरेक दिनका काम ठिक वा बेठिक के हो भनेर हेर्ने काम प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भएको भएपनि कांग्रेसले अहिले त्यतातिर पर्याप्त ध्यान नदिएको पनि आरोप लगाए ।

उनले आज आफू चावहिलहुँदै प्राईम टेलिभिजनको कार्यालयमा आएको सुनाउँदै बाटोमा आउँदा खाल्डाखुल्डी यति धेरै रहेको बताए । उनले भने, “खाल्डाहरु पुर्नपनि नसक्ने ? यो ७ महिनामा किन काम गर्न नसकेको ?”

उनले प्रधानमन्त्रीले सरकारले सुशासन दिएको छ भनेर गफ दिएपनि अहिलेसम्म के सुशासन दिनुभयो ? भनेर उल्टै प्रश्न समेत तेर्साए । लोहनीले थपे,”निर्मला पन्तको हत्या भएको दुई महिना भयो । यत्रो जालझेल भयो। नेपालको प्रशासन कत्रो धमिराले खाएको रहेछ । जनताले आवाज नउठााएको भए एउटा निर्दोष मान्छे जेल पर्ने अवस्था थियो । यही हो त सुशासन ? ”

उनले प्रधानन्त्री ओलीले विकासको जग बसाल्न नसक्नेसमेत ठोकुवा गरे । उनले भने-“उहाँले वकासको जग त होईन, बरु भ्रष्टाचारको जग बसाल्ने ट्रेण्ड देखियो । होईन भने एनसेलको ४० अर्ब किन छोड्नुभयो ? ३३ केजी सुन काण्ड कहाँ पुग्यो ? हिजो तपाईले अयोग्य भनेको मान्छे आज कसरी योग्य भयो ? यसमा लेनदेन भयो भन्ने स्पष्ट भयो । दुरसञ्चार प्राधिकरणको काण्डको मैले कुरा गरेको हुँ । हिजो त्यही मान्छेलाई अयोग्य भनेर निकालियो । प्रशासनबाहेक अन्य काम गर्न नपाउने भनियो, पछि त्यही मान्छेलाई नियुक्ती गरियो ?”