अपांगमैत्री अत्याधुनिक पुस्तकालय निर्माण गर्न नेपाल जर्नीले आगामी डिसेम्बर ८ मा ‘फण्ड रेजिंग डिनर’ आयोजना गर्ने

0
Shares

काठमाडौं, १४ असोज । नेपाल जर्नीले नेपालकै नमूना अपांगमैत्री अत्याधुनिक पुस्तकालय निर्माण गर्न आगामी डिसेम्बर ८ मा फण्ड रेजिङ्ग आयोजना गर्ने भएको छ ।

आईतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै नेपाल जर्नीका अमेरिकास्थित् ओहाओका कोअर्डिनेटर सुनिल माथेमा प्रधानले यस्तो जानकारी गराएका हुन् ।

उनले आफूहरुले अहिलेसम्म ५ वटा सुविधासम्पन्न पुस्ताकालय निर्माण गरिसकेको जनाउँदै अबको ‘ड्रिम–प्रोजेक्ट’ रहेको उक्त नेपालकै नमूना अपांगमैत्री अत्याधुनिक पुस्ताकालय निर्माण गर्ने रहेकोले यसको लागि सहयोगी हातहरुको खाँचो रहेको सुनाए ।

त्यस्तै कार्यक्रममा नेपाल जर्नीकी बोर्ड सदस्य अमेरिकाको टेक्सास निवासी बबिना खड्काले पनि आफूहरुको यो प्रोजेक्ट सफल बनाउनको लागि सबैको सहयोगको खाँचो रहेको औंल्याईन् । उनले भनिन्,‘डिसेम्बर ८ मा हुने फण्ड रेजिङ्गमा कम्तिमा पनि ५ सय जनाको उपस्थिति हुनेछ भन्ने हाम्रो विश्वास छ । सन् २०१७ मा ३ सय अतिथिहरु हुनुहुन्थ्यो ।’ सबैको सहयोगले गर्दा नै उक्त स्वप्न परियोजना सफल हुने उनको विश्वास छ ।

गुणस्तरीय शिक्षा प्रदान गर्नको लागि भरतपुर गणेशस्थानमा रमाइलो वातावरणमा ‘स्पेसल डीजाइन’ मा अपांगमैत्री पुस्तकालय निर्माण गर्न लागिएको खड्काले जानकारी दिईन् । उनले भनिन्,‘यही डिसेम्बर ८ गते शनिबार ग्रेपभाइन सिटीस्थित मेरिअट होटेलमा उक्त कार्यक्रम गर्न लागिएको जानकारी गराउन पाउँदा खुशी लागेको छ ।’

बिगतमा भन्दापनि भब्य र सभ्य रुपमा उक्त कार्यक्रम सम्पन्न गर्ने आफूहरुको लक्ष्य रहेको खड्काले सुनाईन् । जारी विज्ञप्तीमा भनिएको छ,‘तपाईंको उपस्थितिलाई गौरवमय बनाउने प्रतिबद्धता व्यक्त गर्दै सानो संख्यामा भए पनि नेपालका पहुँच बाहिरका बालबालिकाहरुलाई सहयोग गर्ने अभियानमा सहयोगी बन्न डालसबासी सम्पूर्ण समाजसेवी एब सर्बसाधारण महानुभावहरुमा हार्दिक अनुरोध गर्दछौं ।’

कार्यक्रममा नेपाल जर्नीका कानुनी सल्लाहकार केशव पुरीले पनि जर्नी नेपालको समाजसेवी कामबाट प्रभावित भएर आफू यो अभियानमा सहभागी भएको स्पष्ट पारे । उनले भने,‘नेपालमा जर्नी नेपालले सुविधानसम्पन्न पुस्ताकालय निर्माण गरेर सम्पूर्ण नेपालीहरुको मन जितिसकेको छ । अमेरिकामा त फण्ड रेजिङ काम भैरहेको छ । नेपालमा पनि धेरै दानवीर हुनुहुन्छ । हामी पनि फण्ड रेजिङ कार्यक्रम गरिरहेका छौं ।’

उनले नेपाल जर्नीको यो अभियानमा सहभागी हुन सबैलाई आग्रहसमेत गरे । उनले भने,‘हामी नेपालीहरु मनकारी छौं । जर्नी नेपालले नेपालमै नमूना अपांगमैत्री पुस्ताकालय निर्माण गर्न गैरहेको छ । यो नेपाल र नेपालीहरुको लागि गौरवको विषय हो । यो महाअभियानमा सबैजना सहभागी हुनुपर्छ ।’

नेपाल जर्नी यतिवेला उक्त सुबिधासम्पन्न अपाङ्गमैत्री पुस्तकालय निर्माण गर्ने उद्देश्यसहित आवश्यक पुर्बधारहरु निर्माणको चरणमा रहेको कुरा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । विज्ञप्तीमा थप भनिएको छ,‘उक्त परियोजना सफल पार्न करिव ३ करोड देखि ५ करोडसम्म लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । त्यसको लागि भरतपुर महानगरपालिकाले जग्गा उपलब्ध गराउने बचनबद्धता समेत हामीले पाइसकेका छौं । स्थानीय सरकार, सामाजिक संस्था र दाताहरुसंग समेत हामी छलफलको क्रममा छौं ।’

                                                                          प्रेस विज्ञप्तीको पूर्णपाठ
नेपाल जर्नी नेपालमा गएको भुकम्पको पृष्ठभूमिमा स्थापना भयो । यो जिन्दगीको कुनै भर छैन, पहुँच नभएकाहरुलाई केहि गर्न हामीलाई अवसर नमिल्न पनि सक्छ । जति सकिन्छ, यतिबेलै गर्ने हो समाजको लागि, आफु जन्मेको माटोको लागि भन्ने मनमा पलाएर यो संस्था स्थापना भयो । स्थापना भएपनि सुरुमा हामीसंग चाहना त थियो । तर, साधन, श्रोत र के गर्ने भन्ने योजनासमेत थिएन । न त हाम्रो योजना पुरा गर्न कुनै टीम नै थियो ।

जति सकिन्छ त्यति गर्ने योजना अनुसार सानो–सानो सहयोगहरु संस्थाले गर्न शुरु गर्यो । शिक्षा नै सबभन्दा महत्वपूर्ण कुरा हो भन्ने ठानेर समस्यामा परेका टुहुरा बालबालिकाहरुलाई पढाउनेदेखि बिभिन्न ठाउँका बिद्यालयहरुका पुस्तकालयहरुलाई हामीले सहयोग गर्यौं । नेपालमा सक्रिय समाजसेवीहरु र सामाजिक संस्थाहरुमार्फत केही कामहरु गर्न सफल भयौं । बिस्तारै हाम्रो संजाल बिस्तार हुँदै गयो । अमेरिकाका बिभिन्न सहरदेखि नेपाल र नेपालबाहिर अन्य देशहरुमासमेत हाम्रो अभियानमा सहयोग गर्न चाहनेहरु हामीले भेट्यौ । यसक्रममा २०१६ को अन्त्य र २०१७ को अन्त्यमा शुभचिन्तकहरुको चाहना र हाम्रो नेपालमा अलि सकारात्मक असर पर्ने खालका योजना पुरा गर्न आवश्यक सहयोग संकलन गर्न ‘फन्ड रेजिंग डिनर’ कार्यक्रम आयोजना ग¥यौं ।

सामाजिक संस्था ‘नेपाल जर्नी’ ले चितवन भरतपुरको गणेशस्थानमा अपाङ्गता भएको बालबालिकालाई लक्षित गरि नेपालकै नमुना अपागंमैत्री अत्याधुनिक पुस्तकालय निर्माण गर्ने भएको छ । गुणस्तरीय शिक्षा प्रदान गर्नको लागि भरतपुर गणेशस्थानमा रमाइलो वातावरणमा ‘स्पेसल डीजाइन’ मा अपांगमैत्री पुस्तकालय निर्माण हुने भएको छ । पुस्तकालयमा किताबको अलावा कम्प्युटरको माध्यमबाटसमेत बिद्यार्थीले ज्ञान हाँसिल गर्न सक्नेछन् । उच्च शिक्षा प्लस टु देखि स्नातकोत्तरसम्म पढ्ने विद्यार्थीको लागि उपयोगी अफलाइन कन्टेन्टसमेत राखिनेछ ।

‘नेपाल जर्नी’ शिक्षा र स्वास्थ्यमा पहुँच पाउन नसकेका नेपालमा रहेका बालबालिकाहरुको लागि सहयोग गर्ने उधेश्यले अमेरिकाको डालसमा २०१५ मा स्थापित गैरनाफामुखी संस्था हो। सिमित साधन र स्रोतको अधिकतम सदुपयोग गर्दै जति सकिन्छ, त्यही बालबालिकाहरुको भबिष्य उज्ज्वल बनाउने लक्ष्यका साथ अघि बढेको नेपाल जर्नी अमेरिका, अस्ट्रेलिया, थाइल्याण्ड र जापानसम्म फैलिइसकेको छ।

बिगतका दुईवटा कार्यक्रमहरुबाट हामीले करिब ५० लाख संकलन गर्न सफल भयौं । तर हामी र हाम्रा सहयोगीहरुको प्रयासले हेटौंडामा लाइब्रेरी स्थापना गर्न सफल भयौं जसमा करिव ४५ लाख खर्च भयो । यतिबेला फेरी हामी चितवन जिल्लामा एक सुबिधासम्पन्न अपाङ्गमैत्री पुस्तकालय निर्माण गर्ने उद्देश्यसहित आवश्यक पुर्बधारहरु निर्माणको चरणमा छौं । उक्त परियोजना सफल पार्न करिव ३ करोड देखि ५ करोडसम्म लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । त्यसको लागि भरतपुर महानगरपालिकाले जग्गा उपलब्ध गराउने बचनबद्धता समेत हामीले पाइसकेका छौं । स्थानीय सरकार, सामाजिक संस्था र दाताहरुसंग समेत हामी छलफलको क्रममा छौं ।

सोही अभियान सफल पार्न यो वर्षपनि विगतमाजस्तै फन्ड रेजिंग डिनर आयोजना गर्ने निर्णय भएर कतिपय काम शुरु भैसकेकोसमेत जानकारी गराउन चाहन्छौं । यही डिसेम्बर ८ गते शनिबार ग्रेपभाइन सिटीस्थित मेरिअट होटेलमा उक्त कार्यक्रम गर्न लागिएको जानकारी गराउन पाउँदा खुशी लागेको छ । बिगतमा भन्दा पनि भब्य र सभ्य रुपमा उक्त कार्यक्रम सम्पन्न गर्ने हाम्रो लक्ष रहेको छ । तपाईंको उपस्थितिलाई गौरवमय बनाउने प्रतिबद्धता व्यक्त गर्दै सानो संख्यामा भएपनि नेपालका पहुँच बाहिरका बालबालिकाहरुलाई सहयोग गर्ने अभियानमा सहयोगी बन्न डालसबासी सम्पूर्ण समाजसेवी एब सर्बसाधारण महानुभावहरुमा हार्दिक अनुरोध गर्दछौं ।

नेपाल जर्नीले गत बर्ष अमेरिकामा बसोवास गर्नुहुने नेपलिहरुसंग शुभकामना साटासाट गर्न उपस्थित भएका नेपाली माहनायक राजेश हमाल, नायिका केकी अधिकारीलगायत घासी नेपालका सस्थापकहरुसंग लिटल नेपाल रेस्टुरेन्टमा रात्री भोजको आयोजना गरेको कार्यक्रममा नेपालमा गरिब बालबालिकाको लागि काम गर्दै आएको सस्था घासी नेपाल लाइ ४५०१.०० चेक हस्तान्तरण गरेको थियो। संस्थाको सहयोगमा चितवनमा विद्युतीय पुस्तकालय निर्माण सम्पन्न भैसकेको छ। यस्तै संस्थाले पारिवारिक अवस्थाको कारण पैसा तिर्न नसकेर पढाई छोड्नुपर्ने अबस्थामा पुगेका अनिल लामालाई आर्थिक सहयोग गरि उनको अध्ययनलाइ निरन्तरता दिन टेवा पुर्याएको थियो’।

चितवनमा बाबुआमाले छोडेर गएपछि अलपत्र परेका दुई बालबालिकालाई आवासीय शिक्षाको व्यवस्था गरेको नेपाल जर्निले निरन्तर रुपमा सामाजिक कार्य गर्दै जाँदा गत वर्ष मात्रै हेटौडामा पुस्तकालय निर्माणसमेत गरेको छ। यस्तै संस्थाको अध्यक्ष मौसमी श्रेष्ठले नारायणगढ लेडी जेसिजको स्थापना दिवसका अवसरमा वैशाख १२ को भूकम्पबाट पीडित चितवनको कविलास–१ भार्लाङस्थित राष्ट्रिय प्राथमिक विद्यालयका १ देखि ५ कक्षासम्मका बालबालिकाहरुका लागि फर्निचर, स्कुल ब्याग, स्टेशनरी सामग्री तथा घडी सहयोग गर्नुभएको छ ।

हाल नेपाल जर्नी संस्था मौसमी श्रेष्ठ (अध्यक्ष), बद्रि श्रेष्ठ, दिपेश आचार्य, जीविका अधिकारी, समिता श्रेष्ठ, बबिना खड्का, सावन श्रेष्ठ, अन्जली मल्ल, सबिन श्रेष्ठ, इन्दिरा वाग्ले, सुनिल माथेमा, गोपाल (मकाउ), सुदर्शन थापा(मकाउ), प्रेम आचार्य (मकाउ), प्रकाश अर्याल(कतार), कृष क्षेत्री (बेल्जियम), गोबिन्द रेग्मी (माल्दिभ्स), डा.गगन मलिक (भारत), बेन्जामिन मुसुन्जा (केन्या), डा.एरिक होल्म्स (मेरिल्याण्ड) लगायत टिम बनाएर सामाजिक कार्यमा अग्रसर छ।

संस्थामा नेपालबाट गणेश श्रेष्ठ, प्रकाश सिग्देल, प्रकाश काफ्ले, नारायण काजी, नविन श्रेष्ठ, मुरली प्रसाद गजुरेल, अदिप पौडेललगायतले नेतृत्व गरिरहेका छन। नेपाल जर्निलाई धेरै भन्दा धेरै परियोजनामा काम गर्नसक्ने संस्था बनाउन अझै धेरै सहयोगी मन भएका समाजसेवीहरु संस्थामा जोडीनेमा नेपाल जर्नी टिम आशावादी छ । पुनः एकपटक नेपालका शिक्षा तथा स्वास्थ्यको पहुँच बाहिरका बालबालिकाहरुलाई सहयोग गर्ने अभियानमा सहयोगी बन्न डालसबासी सम्पूर्ण समाजसेवी एब सर्बसाधारण महानुभावहरुमा हार्दिक आग्रह गर्दछौ।