डोटीमा ७४ वर्षीया वृद्धा बलात्कृत

0
Shares

काठमाडौं १७ असोज । डोटीमा एक वृद्धा बलात्कृत भएकी छिन् । सोमबार बडीकेदार गाउँपालिका–३ की ७४ वर्षीया वृद्धा बलात्कृत भएकी हुन् । छिमेकी गाउँ जाने क्रममा जंगलको बीचमा बलात्कार गरिएको पीडितले बताएकी छिन् । बाटोमा एक्लै हिँडिरहेका वेला पछाडिबाट आएका बोगटान गाउँपालिका–१ सिमचौर पान्सा घर भएका गणेश भनिने एकेन्द्र धामीले वृद्धालाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

पीडित महिला चिच्याएको आवाज सुनेपछि घटनास्थलतर्फ गएका स्थानीयवासीले एकेन्द्रलाई नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका थिए । धामी अहिले प्रहरी नियन्त्रणमा छन् । उनीविरुद्ध जबर्जस्तीकरणी मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धु्रव विष्टले जानकारी दिए । श्रीमतीलाई माइती पु-याएर फर्कंदै गरेका धामीले वृद्धालाई बलात्कार गरेका हुन् । ‘त्यो मान्छे पछाडिबाट आउँदै थियो, मेरो घाँटीमा समातेर दिन्छौ भनेर जबर्जस्ती ग-यो,’ वृद्धाले भनिन् ।

तीन महिनामा पाँच बलात्कारका घटना
डोटीमा तीन महिनामा पाँच बलात्कारका घटना भएका छन् । १७ साउनमा २२ वर्षीया एक महिलालाई घरमै गई बलात्कार गर्न खोजेको आरोपमा आदर्श गाउँपालिका–२ का ३० वर्षीय धौले लुहारविरुद्ध प्रहरी कार्यालयमा मुद्दा दर्ता भएको छ ।

शिखर नगरपालिकाकी १६ वर्षीया बालिकामाथि जबर्जस्तीकरणी गरेको आरोपमा शिखर नगरपालिका–६ मा बस्दै आएका शिवराज लुहारलाई प्रहरीले पक्राउ गरेको छ । यस्तै, पूर्वीचौकी गाउँपालिकाकी २१ वर्षीया अपांगता महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा ३५ वर्षीय शिव लुहारविरुद्ध मुद्दा दर्ता भएको छ । शिखर नगरपालिकाकी १७ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक युवकलाई प्रहरीले गिरफ्तार गरेको छ । नयाँपत्रिकाबाट