नेकपा एकताकाे एक वर्ष : तल्लो तहमा अझै छैन एकता

0
Shares

काठमाडौं १८ असोज । ५५ वर्षसम्म फरक राजनीतिक ‘स्कुलिङ’मा रहेका दुई ठूला कम्युनिस्ट घटकले चुनावी गठबन्धनदेखि पार्टी एकतासम्मको अवधि पूरा गरेको एक वर्ष बितेको छ। गत वर्ष १७ असोजमा नयाँ शक्ति पार्टीलाई समेत साथ लिएर तत्कालीन एमाले–माओवादीले प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा चुनावी तालमेल र लगत्तै पार्टी एकता गर्ने औपचारिक समझदारीपत्रमा हस्ताक्षर गरेका थिए।

समझदारीविपरीत नयाँ शक्ति गठबन्धनमा १० दिन पनि टिक्न सकेन। दुई घटकले भने गत जेठ ३ मा पार्टी एकता गरे। केन्द्रमा एकता भएको १ सय ३९ दिन पुगे पनि अझै ७ प्रदेश, २२ जनसंगठन, एक सम्पर्क समन्वय कमिटी, एक प्रवास कमिटी र मातहत कमिटीको अझै एकता हुन सकेको छैन। केन्द्रदेखि स्थानीय तहसम्म एकता प्रक्रिया अझै संस्थागत हुन सकेको छैन।

एकता यसरी भयो सम्भव

एकताकै लागि यी दुई कम्युनिस्ट घटकले १२ वर्ष लामो अनेक प्रयास गर्नुपरेको थियो। २०१९ को तेस्रो महाधिवेशनबाट पुष्पलाल र चौथो महाधिवशेन समूहमा विभाजित भएका यी दुई घटकबीच पार्टी एकताका लागि सामान्य छलफल चलाउन पनि ०६३ सालसम्म कुर्नुपरेको थियो। तत्कालीन माओवादी सशस्त्र युद्ध त्यागेर शान्तिपूर्ण राजनीतिमा आएपछि मात्र ०६३ सालमा आएर यी दुई कम्युनिस्ट पार्टीमा एकताको छलफल सुरु भएको थियो।

०६३ साउनमा माओवादीको काभ्रे कामीडाँडामा बसेको बैठकमा एउटै कम्युनिस्ट केन्द्र बनाउने निर्णय भएको थियो। २०६४ फागुनमा पद्मरत्न तुलाधर, श्याम श्रेष्ठलगायतको अगुवाइमा एमाले–माओवादी एकता प्रयास भयो। २०६५ साउनमा एमाले नेता माधव नेपाललाई राष्ट्रपति बनाउने प्रस्तावसहितको एकता प्रयास पनि भयो।

२०६८ पुसमा दुवै घटकका दोस्रो पुस्ताका नेताको पहलमा झलनाथ खनाललाई प्रधानमन्त्री बनाउने सहमति गर्दा पार्टी एकताको पनि पहल भयो। २०७२ असोजमा केपी ओली प्रधानमन्त्री बन्दै गर्दा पनि पार्टी एकतासम्म जाने विषयमा छलफल भएका थिए। तर ती प्रयासले परिणाम निकाल्न सकेका थिएनन्। तर २०७४ असोजमा मात्र यसले औपचारिकता पाएको थियो।

‘तालमेलले मात्र देशको समस्याको समाधान हँुदैन भन्ने लागेपछि म आफैंले एकताकै प्रस्ताव राखेको हुँ। उहाँ (ओली)ले पनि एक ढंगले हिसाब गर्नुभयो होला। सरकार बनाउने ग्यारेन्टी पार्टी एकता वा वाम तालमेलसँग मात्र सुनिश्चितता थियो। त्यसकारण स्वतः एकतासम्ममै सहमति बन्ने वातावरण बन्यो’, आफ्नै निवासमा केही दिनअघि अध्यक्ष दाहालले विभिन्न सञ्चारमाध्यमका सम्पादकसँग भनेका थिए। २०७४ असोजमा चुनावी गठबन्धन गरेका यी दुई घटकले फागुनमा पार्टी नाम, राजनीतिक कार्यदिशालगायतमा सातबुँदे सहमति गरेका थिए। त्यसपछि ०७५ जेठ ३ मा पार्टी एकता भएको थियो।

आधारभूत सहमति

दुई अध्यक्षात्मक प्रणाली, आगामी महाधिवेशनबाट समझदारीमा नेतृत्व चयन गर्नेलगायत विषयमा आधारभूत सहमति गरेर मात्र एमाले–माओवादीको एकता भएको छ। ‘लिडरसिप र लाइनका विषयमा आधारभूत सहमति बनाएरै पार्टी एकता गरिएको छ’, सम्पादकहरूसँगको भेटमा दाहालले भनेका थिए, ‘आउने महाधिवशेनलाई एकताको महाधिवशेन बनाउने गरी भोटिङ गरेर भन्दा समझदारीमा नेतृत्व चयन गर्ने भन्ने एकताको आधार छ।’

नेकपाको अहिलेको आन्तरिम राजनीतिक प्रतिवेदन, विधान र नियमावली समझदारीमै बनाइएको छ। नेतृत्वका विषयमा पनि दुई अध्यक्ष हुने, आलोपालोमा अध्यक्षता गर्ने, सरकारको नेतृत्व पनि त्यहीअनुसार नै गर्ने समझदारी छ। ‘कुनै कन्फ्युजन छैन, अधिवशेनसम्मका लागि’, दाहालले भने। वैचारिक–राजनीतिक रूपमा पनि नयाँ राजनीतिक ‘स्लोगन’मा दुई घटकले पार्टी एकतापूर्व नै समझदारी बनाएका छन्। अन्नपूर्णपोष्टबाट