काठमाडौं २० असोज । सरकारले नागरिकता ऐन ०६३ लाई संशोधन गर्न ल्याएको विधेयक संसद्को राज्यव्यवस्था तथा सुशासन समितिमा छलफलको क्रममा छ । समितिले शुक्रबार नागरिकता प्रभावित व्यक्ति तथा अधिवक्ताहरूसँग छलफल ग-यो ।
छलफलमा आमाको नामबाट नागरिकता लिन वर्षौंदेखि संघर्ष गरेका, बाबु र आमा दुवैको ठेगाना पत्ता नलागेर नागरिकताविहीन भएका गरी आधा दर्जनभन्दा बढी उपस्थित थिए । जसमध्ये पाँचजना पीडितले नागरिकता प्राप्तिमा आफूहरूको लडाइँ र विगतबारे आफ्ना दुःख–व्यथा सुनाए । आमाको नामबाट नागरिकता नपाएका तथा महिला अधिकारकर्मीहरूले नागरिकता पाउन बाबुको पहिचान खुलाउनुपर्ने र पहिचान हुन नसकेको आमाले स्पष्टीकरणसहित स्वघोषणा गर्नुपर्ने व्यवस्था हटाउन संसदीय समितिसमक्ष माग गरे ।
यस्ता छन् नागरिक हुन नसक्नुको कथा
पीडित १ : दिवाकर क्षेत्री र प्रभाकर क्षेत्रीका बाबुले उनीहरू सानै छँदा आत्महत्या गरे । बाबुको नाम रुद्र क्षेत्री थियो । धर्म परिवर्तन गरेपछि उनको नाम पनि फरक भएको थियो । आमा राई थरकी । बाबुको ठेगाना थाहा छैन । आमाको नामबाट उनीहरू नागरिकता लिन चाहन्छन्, बाबुको थर जोडिएको तथा बाबुको नाम दुवैलाई थाहा छ, तर ठेगान थाहा छैन । उमेरले दिवाकर ४५ वर्ष पुगे । उनले हालसम्म नागरिकता प्राप्त गर्न सकेका छैनन् ।
पीडित २ : सुमी (नाम परिवर्तन) साढे चार वर्षको हुँदा बाबुको मृत्यु भयो । उनकी आमालाई सुमीको बाबुको परिवारले स्वीकार गरेन । सुमी बालिग हुने उमेरमा पुगिन् । अंश दिनुपर्ने बुझेर सुमीका बाबुका आफन्तले उनलाई नागरिकता बनाइदिएनन् । सुमीले आमाको नामबाट नागरिकता लिन प्रयास गरिरहेकी छिन्, तर पाएकी छैनन् ।
पीडित ३ : शिवानी (नाम परिवर्तन) सानै उमेरमा झापाको काँकडभिट्टास्थित एक होटेलमा काम गर्थिन् । एकजनाले उनलाई अनाथ आश्रममा पु¥याए । शिवानी हुर्किंदै गइन् । उनले पहिले काम गरेको होटेलका मालिक को हुन् भनेर खुल्न सकेन । उनका बा–आमाबारे त झन् खुल्न सक्ने कुरै भएन । हाल उनी पनि नागरिकताविहीन छिन् ।
पीडित ४ : सुनिता (नाम परिवर्तन)का बाबुको उनी सानो छँदै मृत्यु भयो । आमा उनलाई काकाको घरमा छाडेर बेपत्ता भइन् । आफ्नै काकाकै घरमा हुर्किन् । तर, अंश दिनुपर्ने ठानेर काकाले हालसम्म नागरिकता बनाउन सहयोग गरेका छैनन् । उनी नागरिकताका लागि संघर्ष गर्दै छिन् ।
पीडित ५ : सविता (नाम परिवर्तन)का श्रीमान् दुई सन्तान भएपछि एकाएक सम्पर्कविहीन भए । पौडेल थरका उनी अहिलेसम्म पनि सम्पर्कमा आएका छैनन् । सविताले श्रीमान् फर्केर आउने आशाले सन्तानको नाम पछाडि पतिकै पौडेल थर राखिन् । सन्तानहरू हुर्किए । बालिग हुने उमेर भयो । बाबुको घर ठेगानासमेत थाहा छैन । सविताले आमाको नाममा सन्तानलाई नागरिकता बनाउन प्रयत्न गरिरहेकी छिन् । तर, बाबुको थर सन्तानको नाममा रहेकाले बाबुको पहिचान नभएसम्म नागरिकता नदिने भन्दै प्रशासनले अड्डी कसेको छ ।
यसरी विभेद गरिन्छ आमा र बुबाको नामबाट नागरिकता लिँदा
नेहा गुरुङले आमा दीप्ति गुरुङको नामबाट नागरिकता लिइन् । उनलाई आमाको नामबाट नागरिकता लिन निकै सकस प-यो । किनभने, उनका ४५ वर्षीय बाबुले अझै नागरिकता पाएका छैनन् । जिल्ला प्रशासन कार्यालय ललितपुरले १८ मंसिर ०७४ मा जारी गरेको नेहाको नागरिकतामा साधारण नागरिकतामा भन्दा फरक टिप्पणी राखिएको छ । जहाँ भनिएको छ : ‘मिति २०७४–०८–१३ को प्रजिअ स्तरीय निर्णयअनुसार सम्मानित सर्वोच्च अदालतको मिति ०७४–२–८ फैसलाअनुसार जारी’ । यो विषय बाबुको नामबाट नागरिकता लिनेहरूकोमा समावेश गरिन्न । नयाँपत्रिकाबाट




प्रतिक्रिया