अझै पैदल मार्गबाट अमेरिका

0
Shares

काठमाडौं २१ असोज । अमेरिका धेरैको सपनाको भूमि हो। तर, अमेरिका पुग्न सजिलो छैन। मानव तस्करले मोटो रकम लिएर थुप्रै नेपालीलाई स्थलमार्गबाटै अवैध रूपमा अमेरिका पठाउने धन्दा रोकिएको छैन। अवैध गमन रोक्न सरकारले यसअघि प्रयास गरेको भए पनि कूटनीति र अन्तरनिकाय समन्वय अभाव रहेको परराष्ट्र अधिकारी नै स्विर्काछन्। ‘एक निकायले मात्र यो रोक्नै सक्दैन, सहकार्यबाट सम्भव छ,’ ती कूटनीतिज्ञले भने, ‘लाखौं खर्चेर ‘ल्यान्ड अफ अपरचुनिटी’ मानिने मुलुक अमेरिका प्रवेशमा लालायित युवाको जमात दिनप्रतिदिन बढ्दो छ।’

केही सरकारी अधिकारीकै मिलेमतोमा यस्तो धन्दा भएको आशंका अमेरिकाले नेपाली कूटनीतिज्ञ समक्ष भन्न थालेका छन्। सरकारलाई दिएको जानकारी दलालकहाँ पुग्ने र रुट परिवर्तन हुने गरेको अध्ययनले देखाएपछि अमेरिकी अधिकारी सशंकित भएका हुन्।

कतिपय मध्य अमेरिकी मुलुकबाट नेपालीलाई फिर्ता गर्ने प्रक्रिया अघि बढाइएको थियो। त्यो जानकारी पाएर दक्षिण अमेरिकातर्फबाट अर्को यात्रा तय गरेको पनि अमेरिकी अधिकारीलाई उद्धृत गर्दै एक नेपाली कूटनीतिज्ञले सुनाए।

अन्य मुलुकको नागरिक समेत नेपाली भनेर जान थालेका छन्। नेपाली कूटनीतिक निकाय सक्रिय भएर अध्ययन अनुसन्धान गर्नपर्ने हो। तर, उल्टै दक्षिण र मध्य अमेरिकी मुलुकका अधिकारीलाई नसघाएकै कारण नेपाली अलपत्र पर्ने गरेको अमेरिका प्रवेश गर्नेको अनुभव छ।

‘अवैध मार्गबाट आउनेलाई रोक्ने प्रयास हदसम्म गरिएको छ तर नेपालीहरू अनेक उपाय लगाएर आइरहेका छन्।’
-डा. अर्जुन कार्की, अमेरिकाको लागि नेपाली राजदूत

जोखिमको यात्रामा कडाइ गरिरहेको भनिए पनि नेपाली वा नेपाली भन्नेहरू अमेरिका छिरिरहेका छन्। जताबाट गए पनि अन्तिम विन्दु मेक्सिको रहेको छ। अमेरिकास्थित नेपाली दूतावास र महावाणिज्य दूतको कार्यालयले स्थलमार्गबाट नेपाली आउने क्रम नरोकिएको स्विकारेको छ।

दूतावास अधिकारीका अनुसार महिनामा दुई सयको आसपासमा नेपाली युवायुवती स्थलमार्गबाट आइरहेका हुन्छन्। यसको यकिन तथ्यांक भने दूतावाससँग छैन। ‘कागजपत्र बिना नै सिफारिस बनाउन आउँछन् तर उनीहरू स्थल या हवाई कसरी आए भन्ने थाहा हुँदैन’, दूतावास अधिकारीले भने, ‘उनीहरूले पीडा पोख्ने क्रममा मात्र यस्तो जानकारी दूतावासलाई हुन्छ।’

कतिपय नागरिकता लिएर दूतावास पुग्छन् र पासपोर्टको आवेदन समेत दिन्छन्। तर, त्यहाँबाट पासपोर्टका लागि दिने आवेदनमा यहाँ विभागले छानबिन नगर्ने हो भने नक्कली नागरिकतामा सक्कली राहदानीसमेत बनेको हुन सक्छ। दूतावासमा नागरिकता प्रमाणित हुने गरेको छैन।

दक्षिण एसियाली मुलुकका नागरिकसमेत नेपाली भन्दै अमेरिका छिर्ने गरेका छन्। नेपालीप्रति दक्षिण र मध्य अमेरिकी मुलुक सकारात्मक हुने गरेकाले विदेशीले पनि नेपाली भन्ने गरेका हुन्।

अमेरिका पुर्‍याउने मानव तस्कर गिरोहले फरकफरक रुट अनुरूप नेपालीलाई अमेरिका छिराउने गरेकाले पक्राउ पर्ने घटना अहिले कम भएको छ। जानेको संख्या भने बढेको अधिकारीले बताए।

कम्तीमा ३० देखि अधिकतम ७५ लाखसम्म खर्च गरेर अमेरिका पुगेको जानकारी दूतावाससँग छ। ‘म आएको दुई महिना भयो। जापान, टर्कीवाला केस आएको छ तर अमेरिकाको छैन’, अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले अन्नपूर्णसँग भने, ‘यसरी जानेलाई रोक्नुपर्छ। हामीले ती मुलुक भएर जानेको अध्यागमन निकायसँग सम्पर्क गरेर समन्वयमा काम गरेमा रोक्ने सक्छौं। त्यसतर्फ सोच बनाएका छौं।’

अन्तराष्ट्रिय माफियाले काठमाडौंबाट कहिले कतार, अफ्रिका र ल्याटिन अमेरिकी राष्ट्र हुँदै मेक्सिकोबाट अमेरिका छिराउँछन्। कहिले भारत र दक्षिणपूर्वी एसियाली राष्ट्र अनि अफ्रिका हुँदै दक्षिण र मध्य अमेरिकी मुलुकबाट मेक्सिको पुर्‍याएर अमेरिका छिराउने गरेका छन्।

एकै रुटबाट लैजाँदा बाटोमा पक्राउ पर्ने र डिपोर्ट हुने भएपछि फरकफरक रुटबाट लैजाने गरेको जानकारी दूतावासले सरकारलाई गराएको छ। उनीहरूले कहिले कतार, अबुधाबी तथा कहिले दिल्ली, थाइल्यान्ड, सिंगापुरलगायतबाट पनि लैजाने गरेका छन्।

नेपालबाट पहिले भारत नै पुर्‍याउने वा भिजिट भिसामा दुबई, अबुधाबी, थाइल्यान्ड र अनअराइभल भिसामा सिंगापुर लगेर पनि त्यहाँबाट सेटिङ गर्ने गरेको जानकारी दूतावास अधिकारीलाई अमेरिका पुग्नेले सुनाउने गरेका छन्। थाइल्यान्ड सिंगापुरको रुट उपयोग गरेमा त्यहाँबाट कम्बोडिया र भियतनाम हुँदै खाडी मुलुक र त्यसपछि अफ्रिका वा सिधै दक्षिण वा मध्य अमेरिकी मुलुक पुर्‍याइन्छ। मुख्यतः बोलिभिया, पानामा, कोस्टारिका, पेरु, इक्वेडर, कोलम्बिया, निकारागुवा, होन्डुरस, ग्वाटेमालाबाट अमेरिका प्रवेशको पछिल्लो विन्दु मेक्सिको बनाइन्छ। मेक्सिमा नेपालीहरू एजेन्टको रूपमा रहेको जानकारी पनि दूतावासलाई छ तर केही गर्न सकेको छैन।

अमेरिकाको लागि नेपाली राजदूत डा. अर्जुन कार्कीले भने, ‘अवैध मार्गबाट आउनेलाई रोक्ने प्रयास हदसम्म गरिएको छ तर नेपालीहरू अनेक उपाय लगाएर आइरहेका छन्।’ कार्कीले यसरी आउने क्रम घटेको दाबी गरे। उनै मातहतका अधिकारीले भने समस्या विकराल रहेको सुनाए। उनले नेपालीहरू प्रवेश गर्ने विषयमा प्रधानमन्त्री केपी ओलीलाई पनि जानकारी दिएका थिए।

प्रधानमन्त्री ओली नेपाली आउनेमध्ये कहिलेकाहीं रुटमा पर्ने एक अमेरिकी मुलुक कोस्टारिका पुगेका थिए। त्यहाँ पनि उनलाई नेपाली अवैध मार्गबाट आउने गरेको सुनाइएको थियो। ‘नेपाली अवैध रूपमा ल्याउनेलाई कारबाही गर्नपर्ने र यस्तो नेटवर्क चुँडाल्न पर्नेमा छलफल भयो’, प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले भने, ‘अहिले त कोस्टारिकामा खासै नेपाली रहेनछन्। तर ट्रान्जिट बनाएर स्थलमार्गबाट आउने–जाने गरेको सुनियो। यसमा सरकारले ध्यान दिनेछ।’

बैंककबाट कम्बोडिया हुँदै भियतनाम, दुबई, तान्जानिया, पानामा हुँदै कोस्टारिकाबाट जंगलको बाटो मेक्सिको छिरेर अमेरिका पुगेका पोखराका एक युवकले अन्नपूर्णसँग भने, ‘म त भाग्यमानी। नेपालबाट हिंडेको तीन महिना १४ दिनमा अमेरिका पुगें। अधिकांशलाई छ देखि नौ महिना लाग्छ। जति समय बढ्छ, त्यति नै खर्च बढ्छ। मैले ३१ लाख रूपैयाँ खर्च गरें।’ उनले आफू आएको तीन वर्ष भएको र ऋण तिरेर पोखरामा सानो टुक्रा घडेरी जोडेको समेत सुनाए। अन्नपूर्णपोष्टबाट