निर्मला हत्या प्रकरण : प्रतिवेदनमा महिना नै गल्ती

0
Shares

काठमाडौं २२ असोज । गृह मन्त्रालयले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको प्रतिवेदन सार्वजनिक गरेको छ।

निर्मला प्रकरणमा प्रहरीले भिमदत्त नगरपालिका १९ का ४१ वर्षीय दिलिप सिंह विष्टलाई भदौ ४ गते पक्राउ गरेपछि घटनाले नयाँ मोड लियो। स्थानीय अझ आक्रोशित भए। कञ्चनपुरमा स्वतस्फुर्त आन्दोलन सुरु भयो। उत्तेजित भीड नियन्त्रण लिने क्रममा भिमदत्त नगरपालिका १८ का १५ वर्षीय सन्नी खुन्नाको मृत्यु भयो। तर प्रतिवेदमा भने विष्ट पक्राउ परेको भदौ ४ लेखिएपनि आन्दोलन भने साउन ७ र ८ गतेपछि भएको उल्लेख गरिएको छ। आन्दोलन भएको महिना नै गलत उल्लेख छ।

कञ्चनपुरको भिमदत्त नगरपालिका २ का यज्ञराज पन्त र दुर्गादेवी पन्तकी १३ वर्षीया छोरी निर्मला पन्तको गत साउन १० गते बलात्कारपछि हत्या भएको थियो। निर्मला पन्त बलात्कार र हत्या प्रकरणको छानबिन र तथ्य सार्वजनिक गर्न चौतर्फी दबाब बढेपछि सरकारले भदौ ७ गते गृहमन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो।

१५ दिनको समय पाएको समितिले गृहमन्त्री रामबहादुर थापा बादल समक्ष असोज ९ गते प्रतिवेदन बुझाएको थियो। गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको ११ दिनपछि गृहमन्त्रालयले वेवसाइतमार्फत् प्रतिवेदनको पूर्णपाठ सार्वजनिक गरेको हो।

स्थानीय सरस्वती मावि कक्षा ९ मा अध्ययनरत निर्मला साउन १० गते ११ बजे सोही नगरपालिका १८ भगतपुर निम्बुखेडास्थित साथी रोशनी बमको घरमा होमवर्क गर्न साइकल चढेर गएकी थिइन्। उनको शव ११ गते बिहान ९ बजे नजिकैको उखुबारीमा भेटिएको थियो।

निर्मला हत्या प्रकरणमा पीडित पक्ष, आफन्त र विभिन्न संघसंस्थाले अपराधि पहिचान गरी कारबाही गर्न माग गर्दै आन्दोलन चर्काएपछि सरकारले छानबिन समिति गठन गरेको थियो। निर्मलाको शवको पोष्टमोर्टम महाकाली अञ्चल अस्पतालमा भएको हो।

रिपोर्टमा बलात्कारपछि हत्या भएको सार्वजनिक भएपछि साउन १२ र १३ गते हत्यारा पत्ता लगाई दोषीमाथि कारबाहीको माग गर्दै प्रदर्शन भएको थियो। उनको दाहसंस्कार दोषीलाई कारबाही गर्ने सहमति भएपछि भदौ १४ गते गरिएको थियो। अन्नपूर्णपोष्टबाट