गलत रिपोर्ट दिने दुई डाक्टरको प्रमाणपत्र खोसियो, बिरामी जाँचमा रोक

0
Shares

काठमाडौं २५ असोज । नेपाल मेडिकल काउन्सिलले जनकपुर अञ्चल अस्पतालका डा.रम्भा गोइत र डा.विजयकुमार सिंहलाई अर्को निर्णय नभएसम्मका लागि व्यावसायिक प्रमाणपत्र निलम्बनसँगै बिरामी जाँचमा रोक लगाएको छ ।

काउन्सिलका प्रवक्ता डा.कृष्णप्रसाद अधिकारीले डाक्टरद्वय गोइत र सिंहले बलात्कारपीडित बालिकाको शारीरिक जाँच गर्दा न्यूनतम चिकित्सकीय आचरण तथा व्यवहारविपरीत मेडिकल रिपोर्ट दिएको ठहर गर्दै व्यावसायिक प्रमाणपत्र निलम्बन गरी चिकित्सकीय गतिविधिबाट बञ्चित गराएको जनाए। ती दुवै चिकित्सकले बिरामी जाँच्ने काम गरे नयाँ मुलुकी संहिताको फौजदारी कानुनअनुसार कारबाही हुन सक्ने डा.अधिकारीले चेतावनी दिए।

काउन्सिलद्वारा गठित छानबिन समितिले बयानका लागि बोलाउँदा अटेर गरेको भन्दै सिरहा जिल्ला अस्पतालका डा. राकेशकुमार सिंहलाई काउन्सिल कार्यालय, बाँसबारीमा सात दिनभित्र उपस्थित भइ स्पष्टीकरण सोध्ने निर्णय पनि गरिएको छ। डा. सिंह हद म्यादसम्म बिना कुनै मनासिव कारण हाजिर नभए वा अटेर गरी बसे निजको व्यावसायिक प्रमाणपत्र निलम्बन गर्ने र चिकित्सकीय अभ्यासबाट बञ्चित गराउने निर्णय काउन्सिलले गरेको डा.अधिकारीले बताए। कान्तिपुरबाट