सुत्केरीलाई रातो भाले

0
Shares

काठमाडौं २७ असोज । पाख्रिबास नगरपालिकाले दुई महिनाअघि थालेको ‘वडाध्यक्षसँग कर्णधार’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । नगरभित्र जन्मिएका नाबालकको स्वास्थ्य जाँच, जन्म दर्ता तथा सुत्केरीको जाँच, पोषणयुक्त खानेकुरा वितरणका लागि कार्यक्रम थालिएको हो ।

धनकुटाको पाख्रिबास नगरपालिका २ का सुत्केरी महिलालाई शुक्रबार रातो भालेसहित पोषणयुक्त खानेकुरा वितरण गर्दै वडाध्यक्ष तथा कर्मचारी । नगर प्रमुख विर्षबहादुर राईका अनुसार १० वडा रहेको पाख्रिबासका प्रत्येक वडाध्यक्षले सुत्केरी महिलालाई घरैमा गएर भेट गर्दै आएका छन्। जसमध्ये पाख्रिबासका सबै वडामा हालसम्म ३६ सुत्केरीलाई वडाध्यक्षले भेट गरिसकेका छन्। स्वास्थ्यकर्मी, जन्मदर्ता गर्ने कर्मचारी, जनप्रतिनिधि, स्वयम्सेविका सहित सुत्केरीको घरमा जाने गरेको पाख्रिबास नगरपालिका-२ का वडा सचिव ठगेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।

उक्त वडामा मात्र दुई महिनामा हालसम्म ९ जना सुत्केरी भएको उनले बताए। आमा र बच्चाको स्वास्थ्य परीक्षण सहित साथमा अनिवार्य रातो भाले पनि लगिने गरिएको उपप्रमुख देवकला तिम्सिनाले बताइन्। ‘यसक्रममा अधिकतम स्थानीय स्रोतसाधन प्रयोग गरिन्छ’, उनले भनिन्, ‘कुखुरा, दाल, घिउ लगायतका स्थानीय उत्पादनका वस्तु वितरण गरिन्छ।’

यसक्रममा स्वास्थ्यकर्मीले नाबालकको स्वास्थ्य जाँच र तौल लिने गरेका छन्। नाबालक र सुत्केरीको संरक्षण गर्ने उद्देश्यले थालिएको उक्त कार्य पछिल्लो समय प्रभावकारी बन्दै गएको तिम्सिनाको भनाइ छ। नवजात शिशु तथा सुत्केरीलाई कुपोषण तथा रक्तअल्पताको अवस्थाबाट मुक्त गर्न अभियान सार्थक हुने दावी गरिएको छ।

पछिल्लो समय आफ्ना टोलवस्तीमा सुत्केरी हुना साथ स्थानीयले जनप्रतिनिधिलाई तत्काल खबर गर्न थालेको वडा २ का अध्यक्ष तोर्णबहादुर खपाङ्गीले बताए। खबर पाउनासाथ जनप्रतिनिधि भने रातो भाले, पोषणयुक्त खानेकुरा र जन्म दर्ताका लागि सुत्केरीकै घरमा पुग्ने गरेको उनले बताए। बच्चालाई हुर्काउन आवश्यक आमाको दूधका लागि समेत पोसिलो खाना जरुरी रहेकाले नगरपालिकाले रातो भालेका साथमा अन्य पोषणयुक्त खानेकुरा वितरण गर्दै आएको छ।

.अस्पताल वा दक्ष स्वास्थ्यकर्मीमार्फत सुत्केरी गराउने चलन बिस्तारै बढदै गए पनि पोषणयुक्त खानेकुराको अभावमा सुत्केरी र नवजातको अवस्था दयनीय पाइएपछि जनप्रतिनिधिसँग कर्णधार कार्यक्रम थालिएको नगर प्रमुख राईले बताए। सुत्केरीका लागि नगरपालिकाले रातो भाले सहित ५ हजार रुपैयाँसम्मका सामग्री खरिद गर्दै आएको छ। कान्तिपुरबाट