चिनी उद्योगीले किसानका उखु किन किन्दैनन्

0
Shares

काठमाडौं २७ असोज ।  पर्साका अगुवा उखु किसानले रिलायन्स सुगर मिल्स बाराले उखु नकिन्ने षड्यन्त्र गरेको आरोप लगाएका छन् । उखु किसानको हक हितका लागि आवाज उठाएकाले बदलाको भावना राखेर उद्योग व्यवस्थापनले यसो गरेको उनीहरूको आरोप छ ।

उखु किसान संघर्ष समिति पर्साका अध्यक्ष सहरूम राउत, सचिव पृथ्वी साह कानु र अर्का अगुवा किसान महम्मद हैदरको उखु यस वर्ष उद्योग व्यवस्थापनले खरिद गर्न नमानेको उनीहरूको आरोप छ । विगतमा जिल्लाका किसानको उखु खरिद गर्न रिलायन्स व्यवस्थापनले आनाकानी गरेपछि आफूहरूले त्यसविरुद्ध सशक्त आवाज उठाएकाले प्रतिशोधको भावना राखेर उद्योग व्यवस्थापनले यस वर्ष उखु खरिद गर्न नमानेको उनीहरूले दाबी गरेका छन् ।

राउतको जगरनाथपुर गाउँपालिकास्थित–५ बिघा, साहको कालिकामाई गाउँपालिकास्थित ६ बिघा र हैदरको वीरगन्ज महानगरपालिका ३१ बेल्वास्थित ५ बिघा जग्गामा लगाइएको उखुको सर्भे हालसम्म उद्योगले गरेको छैन । जिल्लाका अधिकांश किसानको उखुको सर्भे गरिसकेको उद्योगले आफूहरूको जानाजान सर्भे गर्न नमानेको राउतले गुनासो गरे ।

‘रिलायन्स व्यवस्थापनले हामीलाई हाकाहाकी यस वर्ष तपाईहरूको उखु किन्दैनौं, जहाँ बिक्री गर्नु छ गर्नुस् भनी जवाफ दिएको छ,’ उनले भने, ‘गत वर्ष हाम्रो मोरहन उखु खरिद गरेको उद्योगले यस वर्ष उखु लिन्न भनी पन्छिन् मिल्दैन, फेरि गत वर्ष उद्योगले हाम्रो खातामा उखुको पैसा ट्रान्सफर गरेको प्रमाण पनि छ, यसै आधारमा हामी उद्योग व्यवस्थापनविरुद्ध कानुनी कारबाही र क्षतिपूर्तिका लागि अदालतमा जान सक्छौं ।’

साहले बिगतमा उद्योग व्यवस्थापनले नक्कली किसानको रेकर्ड खडा गरी सस्तो भारतीय उखु खरिद गरेर नेपाली किसानलाई समस्यामा पार्ने, प्रतिक्विन्टल उखुमा पाइने ६५ रुपैयाँ सरकारी अनुदानको पनि दुरुपयोग गर्ने, सादा चलान छापेर उखुको चलान बिक्री जस्ता बदमासी गरेकाले आफूले त्यसको समेत बिरोध गरेपछि यस वर्ष आफ्नो उखु खरिद गर्न नमानेको दाबी गरे । ‘अब हामी कसको शरणमा जाने, प्रशासन गुहार्दा सधैं उद्योगको पक्षमा बोल्छ, खेत बाँझो राख्ने किसानलाई सरकार कारवाही गर्छु भन्छ,’ उनले भने, ‘उद्योगले उखु किन्दैन भने हामीलाई क्षतिपूर्ति देओस् ।’

रिलायन्स व्यवस्थापनले गत वर्षकै किसानको उखुको भुक्तानी ४६ करोड दिन बाँकी रहेको छ । यस वर्ष पर्सा जिल्लामा मात्रै करिब ६ हजार बिघा जग्गामा उखु खेती गरिएको छ । रिलायन्स पर्सा बाराका उखु किसानको सबैभन्दा ठूलो उखु खरिदकर्ता हो । जिल्लामा एभरेस्ट सुगर मिल्सको उखु संकलन केन्द्र २ वर्षअघिदेखि सन्चालनमा छ । अन्य ससाना खाडसारी उद्योगले पनि उखु खरिद गर्छन् । तर ठूलो परिमाणमा खरिद रिलायन्सले नै गर्ने हुँदा उसको गतिविधिले किसानको भविष्यमा प्रत्यक्ष असर गर्छ । कान्तिपुरबाट