निर्मला प्रकरणको दिनगन्ती : सरकारलाई सताएको १०१ दिन


कात्तिक १७, काठमाण्डौ । कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको शुक्रबार सय दिन पुग्यो ।

घटना भएदेखि न्यायका लागि सुरु भएको आन्दोलन अझै जारी छ । तर निर्मलाको वास्तविक अपराधी पत्ता लाग्न सकेको छैन । सरकारले गरेका विभिन्न अनुसन्धानहरु पनि शुन्यमै छन् ।

यो अवधिमा निर्मला प्रकरणले धेरै रुप लियो । जिल्लाका प्रहरी प्रशासनको नेतृत्व परिवर्तन भयो ।

विभिन्न छानबिन समितिहरु गठन भए । सरकारी समिति घटनाबारेको प्रतिवेदन पनि तयार गर्यो । तर अहिलेसम्म निर्मलाको बलात्कारी र हत्यारा को हो भन्ने कुराको सुईको समेत पाउन सकेको छैन । घटनापछि प्रहरीले अनुसन्धानमा लापरवाही गरेको भन्दै छानबिन समितिले प्रतिवेदन बुझाएपछि तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) डिल्ली विष्ट र तत्कालीन वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक जगदिश भट्ट सेवाबाट बरखास्त भएका छन् ।

तर, अहिलेसम्म प्रहरी वास्तविक अपराधीसम्म पुग्न नसकेको भन्दै आलोचित बनेको छ । सरकारले अझैसम्म पनि दोषी पत्ता लगाउन नसकेको भन्दै फेरि आन्दोलनहरु सुरु भएका छन् । कञ्चनपुर प्रहरीले निर्मला हत्याकाण्डको अनुसन्धान अहिले पनि जारी राखेको भन्दै करिब डेडसय जना व्यक्तिहरुसँग सोधपुछ गरिएको बताएको छ ।

अहिले पनि सीआईबीको टोली अनुसन्धानका लागि भन्दै कञ्चनपुरमै रहेको छ । तर, उसले पनि वास्तविक हत्यारा को हो भन्ने पत्ता लगाउन सकेको छैन । गत साउन १० गते घरबाट साथीकोमा पढ्न भनेर गएकी निर्मलाको शव भोलिपल्ट उखुबारीमा फेला परेको थियो ।

यो अवधिमा नेपालको सुरक्षा व्यवस्था कमजोर देखिनुका साथै प्रहरी प्रशासनको क्षमतामाथि नै प्रश्नसमेत उठेको छ । अनुसन्धानमा खटिएकै प्रहरीले भएका प्रमाण समेत लोप गर्दा सिंगो सुरक्षा निकायमाथि जनआक्रोश चुलिएको छ । यति मात्रै होइन, निर्मला प्रकरणकै कारण सरकार नै असफल भएको आरोप लागिरहेको छ ।