काठमाण्डौका ढल एम्बुससरह, हिँड्दा हिँड्दै खाल्डोमा पर्ने डर


काठमाण्डौ । काठमाडौं उपत्यकाको अधिकाश ढलको मंगालमा ढकन नहुदा पैदलयात्री जोखिममा छन् । मंगालमा ढकन नहुँदा मोटरसाईकल तथा साईकयात्री समेत जोखिममा छन् ।

ढलको मंगलामा मानिसको ज्यान नै जाने घटना हुँदै आएपनि त्यस्ता ढकन टाल्नको लागी सम्बन्धित निकायले अझै पहल गरेको छैन ।

उपत्यकाको ३ वटै जिल्लाका विभिन्न ठांउमा ढलको मंगालमा ढकन लगाईएको छैन । ढकल नलगाईदा यात्रुहरुले जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ । ढलको पानी पनि चुहिएर शहर नै दुर्गन्दित बनेको छ । दुर्गन्ध फैलिएपछि यात्रुहरु नाक छोपेर हिंडनुपर्ने अवस्था छ । गएको शनिबार कीर्तिपुरस्थित बल्खु–दक्षिणकाली सडक किनारको खानेपानी च्याम्बरमा जमेको पानीमा खस्दा एक साइकल यात्रीको मृत्यु भयो ।

अन्य स्थानमा रहेका खुल्ला मंगालमा पनि दुर्घटना नहोला भन्न सकिन्न । तर काठमाडौ, ललितपुर महानगरपालीकाका जनप्रतिनिधिलाई नै आफ्ना नागरिकको सुरक्षामा वास्ता छैन । यस्तै लापरवाही ललितपुरको पुल्चोक चुनदेवी मन्दिर क्षेत्रमा पनि देखिएको छ । ढलबाट पानी चुहिएर कुपण्डोल मूल सडकमै ढल बगेको छ  । ढलको ढुङढुङ्ती गन्हाउने पानी बगेर हरिहर भवनस्थित मन्त्री क्वाटर नजीक सम्म आईपुगेको छ ।

पैदलयात्रु नाक छोपेर हिड्न बाध्य छन् । ढलको मंगालमा राखिएको ढकनी खुला भएकाले दुर्घटना हुने सम्भावना पनि उत्तिकै छ । ढकन भएका कतिपय मंगलहरुमा समेत आधा मात्र छोपिएको छ । त्यहा पनि दुर्घटना हुने जोखिम त छदै छ, वरिपरि दुर्गन्ध उत्तिकै फैलिएको छ । सोही बाटोमा झम्सिखेल, सानेपा, क्षेत्रका स्थानीय दैनिक जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । दुर्घटना हुन नदिन त्यस्ता ढलका मंगालमा तत्काल ढकन लगाउनुपर्ने आफुहरुको माग भएपनि समबन्धित निकायले वास्ता नगरेको स्थानीयको गुनासो छ ।

सिंहदरबारको सम्पूर्ण अधिकार अझै वडा कार्यालयमा नआएकाले आफुहरुले आलोचना खेप्नुपरेको वडाका जनप्रतिनिधिहरु बताउछन् । सामान्य प्रशासन मन्त्रालयको स्पष्ट नीति निर्देशन नदिएकोले स्थानीय तहलाई काम गर्न अफ्टेरो परेको भन्दै जनप्रतिनिधीहरु आफ्नो जिम्मेवारीबाट पन्छिन्छन् ।

फुटेका गन्हाउने ढल खाल्डा, धुलो, धुवाँ, ट्राफिक जाम काठमाडौं उपत्यकाका सडकको परिचयनै बनिसकेको छ । जसले गर्दा सडकमा यात्रुलाई सास्तीमात्र नभई जोखिम पनि उतिकै छ । पाइलैपिच्छेका जोखिमले कहाँ र कतिबेला ज्यान जाने हो भन्न नसकिने अवस्था छ । यस्तो अवस्थामा नागरिकको सुरक्षाको लागी सम्बन्धित निकायले सोच्नुपर्ने देखिन्छ ।