अजिबका पद्मरत्न : केके गरे ? यस्तो छ अनौठो जीवनकाल


काठमाण्डौ । पूर्व मन्त्री एवं मानव अधिकारकर्मी तथा नागरिक समाजका अगुवा पद्मरत्न तुलाधरको ७८ वर्षको उमेरमा उपचारको क्रममा आइतबार काठमाडौंको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा निधन भएको छ । तुलाधर दुई पटक सरकार र माओवादीबीच भएको वार्ताका मध्यस्थकर्ता थिए ।

उनलाई कात्तिक ९ गते साँझ माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । चिकित्सकहरुका अनुसार तुलाधरलाई मस्तिष्कघात भएपछि अस्पताल लगिएको थियो । उनको रगतको नशा ब्लक भएको, छातिमा इन्फेक्सन देखिएको र बायाँ तर्फका शरीरका अंग चलाउन असजिलो भएकाले अस्पताल भर्ना गरिएको थियो । तुलाधर दुई पटक सरकार र माओवादीबीच भएको वार्ताका मध्यस्थकर्ता थिए ।

२०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वमा बनेको एमालेको अल्पमतको सरकारमा श्रम र स्वास्थ्य मन्त्रीको कार्यभार तुलाधरले सम्हालेका थिए । पञ्चायतकालमा सूर्य चिह्न लिई राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भएका तुलाधरले राष्ट्रिय पञ्चायतको बैठकमै बहुदलको माग गरेर सबैलाई अचम्ममा पारेका थिए । नेपाल भाषा मंकाः खलः को अध्यक्ष बनेर भाषिक आन्दोलनमा लागेका काठमाडौंका रैथाने तुलाधर चालीसको दशकअघि भाषिक अधिकारकर्मीका रुपमा परिचित थिए । पछि एमाले नजिक भए । त्यसपछि माओवादीनिकट भनेर चिनिए ।

त्यससँगै उनले पहिचानवादी आन्दोलनका अभियन्ताको दह्रिलो पहिचान बनाए । आधिकारिक रुपमा कुनै पनि दलको सदस्य नबनेका उनी लोकतान्त्रिक र वामपन्थी आन्दोलनमा सक्रियतापूर्वक लागे । ०४६ सालमा उनी पञ्चायतविरुद्ध संयुक्त आन्दोलनका लागि कांग्रेस र बाममोर्चालाई एक ठाउँमा ल्याउने सूत्रधारमध्ये एक थिए । शान्त, सरल र मिजासिला स्वाभावका तुलाधर मञ्चमा भने निकै चर्को भाषण गर्थे ।

पछिल्लोपटक ०७२ सालमा आदिवासी जनजाति राष्ट्रिय आन्दोलनको नेतृत्व गरेका तुलाधर केही वर्षयता सार्वजनिक कार्यक्रममा देखिएका थिएनन् । तुलाधरका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।