निर्मलाका बाबु यज्ञराजले दिए सरकारलाई यस्तो अल्टिमेटम


कञ्चनपुर । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको सय दिन नाघिसकेको छ  । तर निर्मलाको वास्तविक अपराधी पत्ता लाग्न सकेको छैन ।

निर्मलाका बाबु यज्ञराज पन्तले २५ गतेसम्म अपराधी पत्ता नलागे आमरण अनशन बस्ने घोषणा गरेका छन् । यज्ञराजले न्यायका लागि आफू प्राण त्याग्नसमेत पछि नहट्ने चेतावनी दिएका हुन् ।

यो अवधिमा विभिन्न छानबिन समितिहरु गठन भए । सरकारी समिति घटनाबारेको प्रतिवेदन पनि तयार गर्यो । तर अहिलेसम्म निर्मलाको बलात्कारी र हत्यारा को हो भन्ने कुराको सुईको समेत पाउन सकेको छैन । यसैबीच निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न पक्राउ नपरेको भन्दै बाबु यज्ञराज पन्त आमरण अनशन बस्ने भएका छन् । निर्मलाको घरमै पत्रकार सम्मेलन गरेर बाबु यज्ञराजले कात्तिक २५ गतेसम्म अपराधी पत्ता नलागे आमरण अनशनसहित धर्ना दिने घोषणा गरेका हुन् ।

हत्याकाण्ड भएको लामो समय हुँदा पनि हत्यारा पत्ता नलागेको भन्दै निर्मलाका बुवाले २५ गतेदेखि जिल्ला प्रसाशनको अगाडि परिवारसहित धर्ना बस्ने बताएका हुन् ।

उनले छिटो भन्दा छिटो हत्यारालाइ पक्राउ गरी सार्वजनिक गर्नसमेत माग गरे । धर्ना बसेर पनि सरकारले कानमा तेल हालेर बसिरह्यो भने आमरण अनसन बसी आफ्नो प्राण नै त्याग्ने चेतावनी यज्ञराजले दिएका छन् ।

घटनापछि प्रहरीले अनुसन्धानमा लापरवाही गरेको भन्दै छानबिन समितिले प्रतिवेदन बुझाएपछि तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) डिल्ली विष्ट र तत्कालीन वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक जगदिश भट्ट सेवाबाट बरखास्त भएका छन् ।

तर, अहिलेसम्म प्रहरी वास्तविक अपराधीसम्म पुग्न नसकेको भन्दै आलोचित बनेको छ । सरकारले अझैसम्म पनि दोषी पत्ता लगाउन नसकेको भन्दै आन्दोलन जारी छ । गत साउन १० गते घरबाट साथीकोमा पढ्न भनेर गएकी निर्मलाको शव भोलिपल्ट उखुबारीमा फेला परेको थियो ।

अनुसन्धानमा खटिएकै प्रहरीले भएका प्रमाण समेत लोप गर्दा सिंगो सुरक्षा निकायमाथि जनआक्रोश चुलिएको छ । यति मात्रै होइन, निर्मला प्रकरणकै कारण सरकार नै असफल भएको आरोप लागिरहेको छ ।