रगतको मूल्य बढ्दा सोसाइटी र केन्द्रको कुरा बाझियो


काठमाण्डौ । पछिल्लो समय उपचारको क्रममा प्रयोग हुने रगतको मूल्य बढाइएको छ । तर रगतको मूल्य बढेको विषयमा रक्त संचार केन्द्र र रेडक्रस सोसाइटीको मत बाझिएको छ ।

केन्द्रका पदाधिकारीले रगतको मूल्य बढेको सूचना प्रकाशित गरेका छन् भने सोसाइटीले यसबारे जानकारी नभएको जवाफ दिएको छ ।

नेपाल रेडक्रस सोसाइटीले स्वास्थ्योपचारका लागि अत्यावश्यक रगतको मृल्य वृद्घि गरेको छ । रेडक्रसले सरकारको अनुमतिबिनै प्रतियुनिट रगतमा एक सय रुपैयाँ मूल्य बढाएको हो । तर केन्द्रिय रक्त संचारले रगतको मूल्य बढेको सुचना प्रकाशन गरेको छ भने सोसाइटी भने मूल्य बढेकोबारे बेखबर छ । रेडक्रसको केन्द्रीय रक्त सञ्चार सेवाले गत बिहीबारदेखि प्रतियुनिट रगतमा यसअघि लिँदै आएको शुल्कमा एक सय रुपैयाँ थप लिने सूचना जारी गरेको छ ।

केन्द्रीय रक्त सञ्चार सेवाकी निर्देशक डा.मनिता राजकर्णिकारले बिहीबार रगतको मूल्य वृद्घि भएको सूचना प्रकाशित गरेकी थिइन् । तर नेपाल रेडक्रस सोसाइटीका निर्देशक प्रकाशकुमार यादवले भने रगतको मूल्य बढेकोबारे आफूलाई जानकारी नभएको जवाफ दिएका छन् ।

रगत तथा रक्त तत्व उपलब्ध गराउने क्रममा लिइँदै आइएको शुल्कमा हाललाई रक्त संकलनमा रिफ्रेसमेन्ट तथा अन्य खर्च व्यवस्थापनका लागि नेपाल सरकार राष्ट्रिय रक्त सञ्चार ब्युरोको निर्णयअनुसार कात्तिक १५गतेदेखि प्रतियुनिट एक सय रुपैयाँ थप लिने व्यवस्थाका लागि सूचित गरिएको केन्द्रीय रक्त सञ्चारको सुचनामा उल्लेख छ । यस विषयमा जानकारी लिन खोज्दा केन्द्रीय रक्त सञ्चार सेवाकी निर्देशक डा.मनिता राजकर्णिकारले बोल्न मानिन् ।

यद्यपी उनले टेलिफोनमा भएको कुराकानीका क्रममा रगतको मूल्य बढेको जानकारी दिएकी थिइन् । निर्देशक यादवले पनि विभिन्न खाले जाँच, चिस्यानमा राख्ने खर्च, ब्यागेजको शुल्क बढेकाले प्रतियुनिट रगतमा मुल्य वृृद्धि हुनु स्वभाविक भएको बताएका छन् ।

मानव स्वास्थ्यका लागि रगतलाई जति महत्वका साथ हेरिएको छ, सो अनुसार नेपाल सरकारको ध्यान जान सकेको छैन । तथ्यांकलाई विश्लेषण गर्ने हो भने नेपालमा रगतको मागअनुसार आपूर्ति हुन नसकेको देखिन्छ । रगत अभावकै कारण बिरामीको मृत्यु भएको खबर सार्वजनिक नभए पनि ग्रामीण क्षेत्रमा रगत अभावमा नै मुत्यु हुने बिरामीको संख्या धेरै छ ।