पुस मसान्तभित्र कर्मचारी समायोजनको काम सम्पन्न गर्छु : मन्त्री पण्डित


काठमाडौं, २१ कात्तिक । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले अहिलेपनि विकास र समृद्धि हाँसिल गर्न नसके मुलुकमा नयाँ ईतिहाँस रच्न नसकिने बताएका छन् ।

बुधबार साँझ रिपोर्टर्स क्लब नेपालले मन्त्री क्वार्टरमा आयोजना गरेको देउसी भैलो कार्यक्रममा बोल्दै मन्त्री पण्डितले यस्तो बताएका हुन् ।
उनले भने,”नेपालको ईतिहाँसमा अहिलेसम्म कुनैपनि सरकार पाँच वर्षसम्म चलेको ईतिहाँस नै छैन् । तर यसपटक हामी दृढ संकल्प लिएर झण्डै दुई तिहाई बहुमतको सरकार छ । समृद्धि र सुशासन दिलाउनेगरि हामी अगाडि बढ्दैछौं ।”

क्लबका सभापति ऋषि धमलाको नेतृत्वमा देउसी खेल्न पुगेको पत्रकारहरुको टोलीसँग कुरा गर्दै उनले भने,”तर एउटा कुरा भन्न चाहन्छु, हामी अहिले केन्द्रिय प्रणालीबाट संघात्मक प्रणालीमा छौं । धेरै व्यवस्थापनहरु गरिसकेका छौं । संघीय कानुनहरु बन्दैछन् । स्थानीय कानुनहरु बन्छन् ।”

संघीय, प्रदेश र स्थानीय निकायका सरकार एक आपसमा समन्वय गरेर काम हुने उनको भनाई छ। उनले भने,”अहिले देखिएका असन्तुष्टिहरुलाई हामी सन्तुष्टिमा रुपान्तरण गर्छौं । तर, पछिल्लो समय सकारात्मकभन्दा पनि नकारात्मक सोचहरु हाबी भएको छ ।”

एक महिनाभित्र संघीय कानुनहरु आउने उनको दाबी छ । पुस मसान्तभित्र कर्मचारी समायोजनको काम सम्पन्न गर्नेगरि द्रुत गतिमा काममा लागिपरेको मन्त्री पण्डितको भनाई छ । प्रदेश र संघबीच कुनै पनि किसिमको विवाद नभएको उनको स्पष्टोक्ति थियो ।