महन्थ ठाकुर ओलीसँग कि सडकतिर ?, राजपा नेताहरुबीच रस्साकस्सी

0
Shares

काठमाडौं, २४ कात्तिक । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिने भन्नेबारे राजपा नेपाल यतिवेला आन्तरिक छलफलमा जुटेको छ । छठपछि राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने हल्ला चलिरहेको बेला राजपाभित्र समर्थन फिर्ता लिने कि नलिने भन्नेबारे अध्यक्ष मण्डलका सदस्यहरु नै दुईतिर विभाजित बनेका छन् ।

स्रोतका अनुसार अध्यक्ष मण्डलका केही नेताहरु तत्काल समर्थन फिर्ता गरेर सडक आन्दोलनमा जानुपर्ने पक्षमा छन् भने केही नेताहरु भने अहिले नै समर्थन फिर्ता लिए संविधान संशोधनको मुद्दा नै ओझेलमा पर्ने बताउँदै आएका छन् । अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर तत्काल समर्थन फिर्ता लिन नहुने पक्षमा उभिएका छन् । उनलाई अध्यक्ष मण्डलका सदस्यहरु राजेन्द्र महतो र शरदसिंह भण्डारीले साथ दिएका छन् ।

तर, अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो, महेन्द्र राय यादव र राजकिशोर यादव भने तत्काल समर्थन फिर्ता लिएर कडा सडक आन्दोलनमा जानुपर्नेमा छन् । राजपाका एक नेताले भने,‘हाम्रो पार्टीभित्र यतिवेला एउटा समूह तुरुन्त सडकमा जानुपर्छ र समर्थन फिर्ता लिनुपर्छ भनेर उग्र रुपमा लागेको छ । महन्थ ठाकुर र राजेन्द्र महतो चाही समर्थन फिर्ता लिनुहुँदैन भन्ने पक्षमा हुनुहुन्छ ।’

संयोजक ठाकुर सरकारसँग बरु बरु बार्गेनिङ गरौं भन्ने पक्षमा उभिएका छन् । उनले संविधान संशोधनको लागि समय सिमा तोकेर जाने प्रस्ताव अघि सारेका छन् ।