निर्मलाका बाबु यज्ञराज आजदेखि धर्ना बस्दै, आमा के गर्लिन ?


कात्तिक २५,काठमाण्डौ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्यारा पत्ता लगाउनुपर्ने माग गर्दै पीडित परिवार आजदेखि धर्नामा बस्ने भएका छन् । हत्या भएको तीन महिना बितिसक्दा पनि हत्यारा पत्ता नलागेको भन्दै परिवार धर्नामा बस्न लागेको हो ।

सरकारले अपराधी पत्ता लाग्छ भनेर आश्वासन मात्र दिइरहेको निर्मलाका परिवारको गुनासो छ ।

जिल्ला प्रशासन कार्यालय अगाडि धर्नाका लागि सबै तयारी पूरा भइसकेको परिवराले बताएको छ ।

आजैदेखि निर्मलाका बाबु यज्ञराज पन्त धर्नामा बस्दैछन् भने आमा दुर्गादेवी केही दिनपछि धर्ना बस्ने बताइएको छ ।

निर्मलाको साउन ११ गते बलात्कारपछि हत्या भएको थियो । शव परीक्षण प्रतिवेदनले निर्मलाको बलात्कारपछि हत्या भएको रहस्य खुलेको थियो । यसबीचमा प्रहरीले ४ जनाको डिएनए परीक्षण समेत गरे पनि हत्यारा पत्ता लाग्न सकेको छैन । अन्य शंकास्पद चारको नमुना संकलन गरे पनि प्रतिवेदन आएको छैन ।