कात्तिक २५, काठमाण्डौ । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तका हत्यारा सार्वजनिक गर्न माग गर्दै आइतबारदेखि पीडित परिवार अनिश्चितकालीन धर्नामा बसेका छन् ।
निर्मलाका बाबु यज्ञराज पन्तले निर्मलाका हत्यारा पक्राउ नगरे आत्महत्या नै गर्ने चेतावनी दिएका छन् ।
आज साँझ प्राइम टाइम्स टेलिभिजसँग टेलिफोनमा कुरा गर्दै उनले धर्ना बस्दा पनि माग पूरा नभए आत्महत्या गर्ने चेतावनी दिएका हुन् ।
निर्मलाका लागि गुण्डाहरुको धम्की पनि आउन थालेको पन्तले बताएका छन् । उनले धर्नापछि थप आन्दोलनका कार्यक्रम पनि ल्याउने जानकारी दिएका छन् ।
पूर्व घोषित कार्यक्रमअनुसार नै जिल्ला प्रशासन कार्यालयको द्वारमा निर्मलाका आमाबुवा छोराछोरीसहित धर्नामा बसेका हुन् ।
आइतबार दिउँसो महेन्द्रनगरको मदनचोकमा भेला भएका परिवार र महिला अधिकारकर्मीहरुल ¥यालीसहित प्रदर्शन गरेका थिए ।
नागरिक संघर्ष समितिले आइतबार ¥यालीसहित जिल्ला प्रशासन कार्यालय महेन्द्रनगर पुगेर धर्ना सुरु गरेको हो । धर्ना दिनुअघि नाराबाजीसहित ¥याली निकालिएको थियो ।
¥यालीमा निर्मलाका सहपाठीहरुसमेत थिए । महेन्द्रनगर बजारमा प्रदर्शनपश्चात् जिल्ला प्रशासन कार्यालय अगाडि पुगेपछि बुवा यज्ञराज, आमा दुर्गादेवी, कान्छी आमा लक्ष्मी र आफन्तहरु धर्नामा बसेका हुन् । आमाबुवासँगै निर्मलाकी बहिनी सरस्वती र भाइ मोहितसमेत छन् । त्यसअघि निर्मलाका बुवा यज्ञराजले प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीलाई धर्ना बस्ने कार्यक्रमबारे जानकारी गराएका थिए । निर्मलाको हत्यारा सार्वजनिक नगरेसम्म २४ सै घण्टा जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने नागरिक संघर्ष समितिले बताएको छ ।
यसअघि निर्मला पन्तका बुबा यज्ञराज पन्तले सरकारले दोषी पत्ता लगाउन नसके आफ्नो परिवार आमरण अनशन बस्ने घोषणा गरिसकेका थिए । अनिश्चितकालीन धर्ना दिने र धर्नापछि पनि हत्यारा पत्ता लगाएर सार्वजनिक नगरे परिवार नै आमरण अनसनमा बस्ने पन्तले बताएका छन् । साढे तीन महिनासम्म पनि अपराधी पत्ता नलागेपछि अन्तिम अवस्थामा धर्ना बस्नुपरेको निर्मलाका बुवा यज्ञराजले बताएका छन् । जबसम्म न्याय मिल्दैन तबसम्म धर्ना जारी राख्ने पन्तले बताएका छन् । सरकारले न्याय दिलाउने आश्वासन मात्रै दिएको भन्दै उनले आक्रोष व्यक्त गरेका छन् ।
सरकारले अपराधी पत्ता लाग्छ भनेर आश्वासन मात्र दिइरहेको निर्मलाका परिवारको गुनासो छ । निर्मलाको साउन ११ गते बलात्कारपछि हत्या भएको थियो । शव परीक्षण प्रतिवेदनले निर्मलाको बलात्कारपछि हत्या भएको रहस्य खुलेको थियो । यसबीचमा प्रहरीले ४ जनाको डिएनए परीक्षण समेत गरे पनि हत्यारा पत्ता लाग्न सकेको छैन । अन्य शंकास्पद चारको नमुना संकलन गरे पनि प्रतिवेदन आएको छैन ।




प्रतिक्रिया