कृष्ण न्यौपानेः दमौली, २६ कात्तिक । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा कृत्रिम ताल बनाइने भएको छ । पहाडकी रानी नामले परिचित बन्दीपुरको पर्यटन प्रवद्र्धन गर्न मानवनिर्मित ताल बनाउन लागिएको हो ।
आपतकालीन पानीको भण्डारण, नौलो मौलिक ताल पार्क एवं बस्ती विस्तार गर्ने उद्देश्यसहित पार्क बनाउन लागिएको हो । बन्दीपुर गाउँपालिका–२ र ४, गैराबारीमा बन्ने ताल १५ रोपनी क्षेत्रफलमा फैलिनेछ । तालको नाम ‘बन्दीकापुर ताल’ राखिनेछ ।
ताल निर्माण गर्न बन्दीपुर गाउँपालिका–४ का अध्यक्ष हरेराम थापाको अध्यक्षतामा समिति गठन गरिएको छ । समितिका अध्यक्ष थापाले ताल निर्माणका सम्बन्धमा बन्दीपुर घर भई हाल जिल्ला बाहिर रहेकासँग छलफल गर्ने तयारी गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार लमजुङको बेँसीशहरमा कात्तिक ३० र चितवनमा मङ्सिर १ गते बन्दीपुरेसँग छलफल कार्यक्रम राखिएको छ । समितिले ताल निर्माणका लागि बन्दीपुरेसँग शेयर आह्वान गर्ने तयारीसमेत गरेको थापाले बताउनुभयो ।
करीब रु दुई करोड ५० लाखको लागतमा बन्ने तालका लागि विभिन्न निकायबाट स्रोत जुटाइनेछ । ताल बनाउन शहरी विकास मन्त्रालयबाट बजेट विनियोजन भएको छ । तालको विसं २०६८ साउन ४ गते तत्कालीन उपराष्ट्रपति परमानन्द झाले शिलान्यास गर्नुभएको थियो । निर्माण शुरु भएको दुई वर्षभित्र ताल निर्माण सक्ने लक्ष्य लिइएको छ ।
सात रोपनी क्षेत्रफलको सार्वजनिक जग्गा र आठ रोपनी व्यक्तिको जग्गा अधिग्रहण गरी ताल निर्माण गर्न लागिएको समितिका पूर्वअध्यक्ष सुदर्शन प्रधानले जानकारी दिनुभयो । उहाँका अनुसार जग्गा अधिग्रहण गर्ने कामसमेत शुरु भइसकेको छ । समितिले रु ११ लाखको लागतमा ५ आना जग्गा खरिद गरिसकेको छ ।
उक्त रकम पनि समितिका सदस्यहरुबाटै उठाइएको उहाँले बताउनुभयो । उक्त ताल वरिपरि होटलसमेत खोल्ने योजना बनाइएको छ । साथै तालमा पौडी प्रशिक्षण, डुङ्गा व्यवसायलगायत सञ्चालन गरिनेछ । तालमा पानीको व्यवस्था गर्न रानीवन र गुरुङ्चे डाँडामा ठूला–ठूला ट्याङ्की बनाइनेछ । rss




प्रतिक्रिया