काठमाडौं, २६ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले अब राष्ट्रपति र उपराष्ट्रपति भवन बनाउँदा प्रहरी एकेडेमी र समाज कल्याण परिषदको जग्गा अतिक्रमण गर्न लागेको भन्दै त्यसको विरोधमा सशक्त आवाज उठाउने भएको छ ।
काँग्रेस नेता डा. प्रकाशशरण महतले पत्रकार ऋषि धमलालाई दिएको जानकारी अनुसार कांग्रेस अब सदनमा यो विषयलाई जोडदार रुपमा उठाउने भएको छ ।
सरकारले महाराजगञ्जस्थित नेपाल प्रहरीको तालिम केन्द्रमा १८ महिनाभित्र राष्ट्रपति कार्यालय र आवास निर्माण गर्ने निर्णय गरेको थियो । मन्त्री परिषदको बैठकले सो क्षेत्रलाई राष्ट्रपति कार्यालयको नाममा नामसारी गरी आधुनिक आवास निर्माण गर्ने निर्णय गरेको थियो ।
प्रहरी तालिम केन्द्र काभ्रेको पनौतीमा सार्ने निर्णय गरेको थियो । यस्तै अहिले भएको क्षेत्रसमेत राष्ट्रपति कार्यालयकै नाम लगेर राष्ट्रपति कार्यालयलाई भव्य बनाउने निर्णय गरेको थियो । तर, कांग्रेसले यसरी जग्गा अतिक्रमण गरेर भवन बनाउनु गलत हुने तर्क गर्दै आएको छ ।
उता कान्तिपथको बहादुर भवनमा रहेको उपराष्ट्रपतिको कार्यालयलाई लैनचौरको समाज कल्याण परिषद् भवनमा सार्ने सरकारको निर्णय छ । चन्दादाताको सहयोगमा निर्मित समाजकल्याण भवनलाई सामाजिक कार्यमै प्रयोग गर्नुपर्ने दाता तथा स्थानीयले माग गरेका छन् ।
उद्यमी, व्यापारी, समाजसेवीदेखि १० हजारभन्दा बढी आमनागरिकको चन्दा सहयोगबाट २०३४ सालमा यो भवन निर्माण गरिएको हो । चन्दा, दान तथा सहयोगबाट उठेको ३ करोड ४५ लाख रुपैयाँमा तत्कालीन समाजिक सेवा राष्ट्रिय परिषद्को ४५ कोठे भवन निर्माण भएको थियो । राजधानीको लैनचौरमा २८ रोपनी जग्गा मध्ये ५ रोपनीमा भवन बनाइएको छ भने २३ रोपनी खुला क्षेत्र छ । तत्कालीन रानी ऐश्वर्यको सक्रियतामा निर्माण भएको यस भवनलाइ भदौ २१ गतेको मन्त्रिपरिषद बैठकले उपराष्ट्रपति कार्यालय सार्ने निर्णय गरेको हो।




प्रतिक्रिया