पौडेलविरुद्ध देउवा आक्रमक, अनुशासनको कारबाही गर्ने चेतावनी

0
Shares

काठमाडौं, २७ कात्तिक । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध आक्रमक रुपमा प्रस्तुत हुने भएका छन् । नेता पौडेल समूहले हिजो सुजाता कोइरालाको निवासमा छुट्टै भेला गरेर सभापति देउवाविरुद्ध संघर्ष गर्ने चेतावनी दिएसँगै देउवाले यस्तो रणनीति बनाएका हुन् ।

आज विहान आफ्नो निवास बुढानीलकण्ठमा आफूनिकट केही नेताहरुसँगको छलफलमा देउवाले पार्टी कार्यालयबाहिर कोठे बैठक गर्ने र नेतृत्वविरुद्ध जथाभावी बोल्नेलाई अब अनुशासनको कारबाही गर्ने पनि तयारी बुनेका छन । देउवा निकट सह–महामन्त्री डा. प्रकाशशरण महतले पत्रकार ऋषि धमलालाई दिएको जानकारी अनुसार सभापति देउवा अब अनुशासनको कारबाही गर्नेसम्मको तयारीमा पुगेका छन् ।

महतले भने,‘सभापतिजीले अब पार्टी कार्यालयबाहिर कोठे बैठक राखे कारबाही गर्ने घोषणा गर्नुभएको छ । उच्छृंखल गतिवधि सञ्चालन गर्ने र सभापतिविरुद्ध जथाभावी टिप्पणी र आलोचना गर्नेलाई अब कारबाही हुन्छ ।’

पौडेल पक्षले पदाधिकारीको संख्या बढाउनको लागि माग गर्दै आएपनि सभापति देउवा भने अब कुनैपनि हालतमा पदाधिकारीको संख्या थप गर्ने पक्षमा छैनन् । तर, उपसभापति र महामन्त्रीको संख्या बढाउनुपर्ने पौडेलको माग छ । पौडेलको मागलाई देउवाले ठाडै अस्विकार गर्ने बुझिएको छ । उनले पार्टी पदीय भागबण्डामा नजाँने भनेर आफूनिकट नेताहरुसँग आज ब्रिफिङ गरिसकेका छन् ।