चितवन पुगेर पौडेलले पोखे देउवाविरुद्ध यस्तो असन्तुष्टि

0
Shares

चितवन, २७ कात्तिक। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी नेतृत्वप्रति असन्तुष्टी पोखेका छन् ।

मंगलबार अपरान्ह भरतपुर विमानस्थलमा प्रेस युनियन चितवन शाखाले गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध आफ्नो असन्तुष्टी पोखेका हुन् । नेता पौडेलले पार्टी नेतृत्व र सरकार दुवैको आलोचना गरेका छन् ।

उनले भने,‘सरकार पनि हल न चलको अवस्थामा छ, कांग्रेस पनि त्यस्तै भएको छ । वास्तवमा आफै भित्र पनि म त्यति सन्तुष्ट छैन ।’ सबैतिरबाट अनुकुल हुँदा पनि सरकारले राम्रो काम नगरेको र यसले जनतामा निराशा बढाएको उनले बताए । ‘सरकारका लागि यस्तो अनुकुल समय नेपालमा कहिल्यै थिएन । प्रतिपक्ष यति भलाद्मी छ । सत्ता पक्षसँग पर्याप्त बहुमत छ । तर सरकार गतिहीन छ । हल न चल भएको छ,’ पौडेलले भने

पार्टी सभापतिले विचार दिन नसक्दा पार्टी र कार्यकर्ता परिचालित हुन नसकेको उनले बताए । विजयकुमार गच्छेदारलाई पार्टी उपसभापति बनाउँदा प्रक्रिया नपु‍¥याएको उनले आरोप लगाए ।

‘गच्छदारजीलाई समायोजन नगर्ने भनेको हैन तर केही प्रक्रिया पु‍¥याउनु पथ्र्याे त्यो अपनाइएन । विधानमा एउटा मात्रै उपसभापतिको व्यवस्था छ । फेरि उहाँको मात्रै कुरा हैन उहाँसँग आएकाहरुलाई तल्लो तहसम्म कसरी समायोजन गर्ने भन्ने प्रश्न मुख्य थियो। समिति बनाएर प्रतिवेदन तयार गरेर काम गर्नु प¥थ्यो,’ पौडेलले भने ।

त्यसैगरी सोही अवसरमा सोमबार बिहान सुजाता कोइराला निवासमा भएको भेटघाटका विषयमा पौडेलले धेरै कुरा खुलाएनन् । ‘सुजाताजीले खाना खानका लागि मात्रै बोलाउनु भएको थियो । त्यो अरु केही थिएन । तर, सरकार वा अरु दल कसैले केही काम गर्न नसकेका बेलामा हामीले खाना खाएको पनि चर्चा भयो,’ पौडेलले भने ।

आउँदो महाधिवेशनमा पार्टीको नेतृत्वमा जाने विषयमा आफूले केही नसोचेको उनले बताए । ‘मैले अहिले सभापतिमा उठ्ने वा नउठ्ने भन्ने विषयमा केही सोचेकै छैन । चुनावमा पार्टी किन हा‍¥यो, यसलाई कसरी सुधार्ने भन्ने मलाई चिन्ता छ, अरु केही विचार छैन,’ पौडेलले भने ।

नेता पौडेलले अहिलेको विधानमा पार्टी सभापतिका लागि पर्याप्त अधिकार भएका कारण अब थप्न नहुने दाबी गरे । केन्द्रीय सदस्यहरु बढाउनु पर्ने अवस्था भएका कारण त्यही अनुरुप पदाधिकारीहरु पनि बढ्नु पर्ने उनको भनाइ छ। ‘केन्द्रीय सदस्य बढ्छन्, बढाउनु पनि पर्छ । तर, केन्द्रीय सदस्यहरु बढेको अनुपातमा पदाधिकारीहरु पनि बढाउन आवश्यक छ । पदाधिकारीहरु नबढाउने हो भने केन्द्रीय सदस्य पनि नबढाउँ,’ पौडेलले भने ।