संचारमाध्यमले तिललाई पहाड बनाउने काम गर्यो : डा. महत


कात्तिक २८, काठमाण्डौ । नेपाली कांग्रेसका नेता डा. रामशरण महतले पछिल्लो समय संचारमाध्यमले देश विकासका एजेण्डा छोडेर पार्टीका आन्तरिक किचलोलाई प्राथमिकता दिन थालेको आरोप लगाएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै महतले पार्टीभित्रका सामान्य विवादलाई पनि संचारमाध्यमले बढाईचढाई गर्ने गरेको आरोप लगाए ।

“को झगडा गर्यो । कसको बारेमा कसले के भन्यो ? यस्तै यस्तै कुरामा बढि चर्चा भइरहेको छ ।” महतले भने ।

कुनैपनि पार्टीको आन्तरिक विषयलाई सार्वजनिक बहसको विषय बनाउन आवश्यक नरहेको महतको तर्क छ । पार्टीभित्र हुने सानातिना छलफल, विवाद र बहसलाई धेरै महत्व नदिन महतले संचारकर्मीले आग्रह गरे ।

महतले सभापति शेरबहादुर देउवाविरुद्ध घेराबन्दी गरेको भन्ने समाचार झुटो भएको बताए ।

“तिललाई पहाड बनाउने काम चाँही नगरौँ ।” उनले भने । पार्टीको समस्या पार्टीले नै समाधान गर्ने महतले बताए ।

तर महतले पार्टीभित्र व्यक्तिवादी चरित्र र गुटबन्दी हाबी हुन थालेको स्विकार गरे । यो समस्या समाधानका लागि आफूहरुले प्रयास गरिरहेको महतले बताए ।