अन्जना शाक्यलाई राजदूतमा सिफारिस गरेपछि नेपाल, खनाल र गौतमको यस्तो रणनीति


कात्तिक ३०, काठमाण्डौ । सरकारले इजरायलका लागि नेपाली राजदूत निरञ्जन थापालाई फिर्ता बोलाउने र रिक्त भएको पदमा डा. अञ्जान शाक्यलाई सिफारिस गर्ने निर्णय गरेको छ । यो निर्णयले सत्तारुढ दल नेकपाभित्रै विवाद भएको छ ।

नेतृत्व तहमा छलफल नै नगरी शाक्यलाई राजदुत बनाउन लागिएको भन्दै नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतमले आपत्ति जनाएको स्रोतको दावी छ ।

पार्टीमा योगदान नदिएको व्यक्तिलाई महत्वपूर्ण जिम्मेवारी दिन लागिएको भन्दै नेताहरुले असन्तुष्टी व्यक्त गरेका हुन् । शाक्य नेकपाको संगठनमा भने क्रियाशील छैनन् ।

खनाल, नेपाल र गौतमले यस विषयमा पार्टीभित्र कुरा उठाउने तयारी गरेको बताइएको छ ।

नेकपाका नेताहरुका अनुसार प्रधानमन्त्री केपी ओलीकै जोडबलमा उनी राजदूत बनेकी हुन् । नाताले शाक्य ओलीकी ‘साली’ हुन् । निकटस्थहरूका अनुसार ओलीले उनलाई ‘साली’ भनेर सम्बोधन गर्छन् । तर, प्रधानमन्त्री पत्नी राधिका शाक्यको आफ्नै बहिनी भने होइनन् । शाक्य संखुवासभाकी हुन् ।

ओली अघिल्लो पटक प्रधानमन्त्री हुँदा पनि शाक्य ‘किचन क्याबिनेट’ की सदस्य थिइन् । त्यसबेला उनलाई जापानको राजदूत बनाउने प्रयास भएको थियो । तर, ओलीको पारिवारिक अवरोधपछि शाक्य राजदूत सिफारिस हुन सकिनन् ।

नेपाल टेलिभिजनकी पूर्व समाचार प्रस्तोता समेत रहेकी शाक्यलाई ओलीकै जोडबेलमा एक समय परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उपनिर्देशक पनि बनाइएको थियो । तर, यो पदका लागि मापदण्ड नपुगेपछि उनको जागिर गुमेको थियो ।