अमेरिकी विशेषदूतको तालिबानसँग वार्ता

0
Shares

काठमाडौँ,३ मङ्सिर । अफगान तालिबानसँग अमेरिकी विशेषदूत जाल्मे खलिलजादले खाडी राष्ट्र कतारमा वार्ता गरेको तालिबानी अधिकारीहरुले बताएका छन् । अफगान तालिबानले अमेरिकी अनुमतिका आधारमा कतारमा राजनीतिक कार्यालय खोलेका छन् ।

कतारमा भएको वार्ताका बारेमा कुनै सन्दर्भ उल्लेख नगरी अमेरिकी दूत खलिलजादले भने “मैले वार्तामा बस्न चाहने सबै अफगानी समूहहरुसँग छलफल गरिरहेको छु, र मेरो विचारमा अहिले मेलमिलाप र शान्तिको अवसर आएको छ ।”

“अफगान सरकारले पनि शान्ति चाहेको छ,” उनले सुनाए । “तालिबानीहरुले भनिरहेका छन्, उनीहरुको विश्वासमा सैनिक ताकतका भरमा सफल हुन सकिँदैन । शान्तिपूर्ण, राजनीतिक मेलमिलापका आधारमा अफगानिस्तानको समस्या समाधान गर्नु पर्दछ भन्ने उनीहरुको भनाइ रहेको छ ।”

वासिङ्टनको शान्तिदूतका रुपमा खलिलजादको नियुक्ति भएसँगै शान्ति प्रक्रियाका विषयमा तिब्रता आएको छ । शान्ति स्थापनासँगै अफगानिस्तानमा अमेरिकी सैनिक उपस्थिति अन्त्य पार्ने खलिलजादको मुख्य जिम्मेवारी हो । अमेरिकी नेतृत्वको फौजले तालिबान सत्ता अपदस्थ गरेको १७ वर्ष पूरा भइसकेको छ, तर अहिले अफगानिस्तानको झण्डै आधा भाग तालिबान विद्रोहीको नियन्त्रणमा छ । तालिबानले गरेका स्थानीय सुरक्षा फौज र सरकारी अधिकारीमाथिको आक्रमणका कारण दिनहुँ ठूलो संख्यामा हताहती भइरहेको छ ।

अमेरिकी प्रशासनले तालिबानसँग राजनीतिक समाधानका लागि हाल प्रयत्न गरेको देखिएको छ, र उक्त समूहले लामो समयदेखि राखेका केही माग पूरा गरिदिएको छ । अहिले अमेरिका र तालिबानबीच प्रत्यक्ष वार्ताको ढोका खुलेको छ । अमेरिकाले अनुरोध गरेपनि तालिबान विद्रोहीले पश्चिमा मुलुकको आडमा बनेको “कठपुतली” काबुल सरकारसँग वार्ता गर्न अस्वीकार गरिआएको छ ।

यहीबीच पाकिस्तानले पनि तालिबानका सहसंस्थापक मुल्लाह अब्दुल घानी बरादर समेतका केही उच्च तालिबानी नेताहरुलाई कारागारमुक्त गरेको छ । यो पाकिस्तानी कदम अमेरिकी अनुरोधमा भएको विश्वास गरिएको छ ।

खलिलजाले पछिल्ला वार्ताले आफू आशावादी भएको बताए । “अफगानिस्तानको भविष्यको मार्गचित्र” भनिएको शान्ति प्रयासले अफगानिस्तानका परस्पर विरोधी समूहलाई एकै ठाउँमा ल्याउने खलिलजादले विश्वास व्यक्त गरेका छन । मार्गचित्रको स्वरुप कस्तो हुन्छ र महिला अधिकार तथा कानुनको शासन समेतका अधिकारको प्रत्याभूति कसरी हुनेछ भन्ने कुरा अफगानीहरुले नै निर्णय गर्ने कुरा हो, खलिलजादले बताए ।

संयुक्तराज्य अमेरिकाले पुरुष र महिलाको समान अधिकारका लागि स्पष्ट रुपमा आवाज उठाइआएको छ, खलिलजादले भने तर यी अधिकार मार्गचित्रमा कसरी राख्ने भन्ने कुरा अफगानी जनताको कुरा हो । उनले अमेरिकाले जतिसक्दो चाँडो अफगान युद्ध अन्त्य भएको चाहेको जनाए । विशेषदूत खलिलजादले आगामी वर्षको अप्रिल २० तारिखका लागि तोकिएको राष्ट्रपतिको निर्वाचन अघि नै सहमतिमा हस्ताक्षर गर्न सकिए राम्रो हुने स्पष्ट पारेका थिए ।

यसै महिनाको शुरुमा जारी गरिएको लामो वक्तव्यमा तालिबानले आफ्नो समूहका नेताहरुमाथि लागेका प्रतिबन्धहरु फुकुवा गर्न, थुनामा रहेका आफ्ना नेता तथा कार्यकर्ता मुक्त गर्न तथा कतारमा रहेको आफ्नो कार्यालयलाई मान्यता दिन माग गरिएको थियो । अफगान सरकारले भने कतारमा कार्यालय खोल्ने बारेमा असहमति जनाएको छ । तालिबानले विगतमा यो कार्यालयलाई अफगानिस्तानको निर्वासित सरकारको रुपमा घोषणा गरेका थिए ।

काबुलमा आयोजित बैठकहरुमा खलिलजादले अफगान राष्ट्रपति अस्राफ घानीलाई वार्ताका नतिजालाई स्वीकार गर्नेतर्फ दबाब दिने विश्वास गरिएको छ । तर यो वार्ताप्रति अफगान सरकारभित्रै मतभिन्नता रहिआएको छ ।एजेन्सी