काठमाडौँ, ६ मङ्सिर : उपराष्ट्रपति नन्दबहादुर पुनले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)ले गति लिनेमा आफू विश्वस्त रहेको बताउनुभएको छ ।
आफूसँग सार्कका महासचिव अमजद हुसेन बि सियालले आज आफ्नै कार्यकक्षमा गरेको शिष्टाचार भेटमा उपराष्ट्रपतिले १९औँ सार्क शिखर सम्मेलन शीघ्र आयोजना गर्न सदस्य राष्ट्रबीच सहमति हुनेमा आफू आशावादी रहेको बताउनुभयो ।
सार्कको अध्यक्षका नाताले नेपालले सदस्य देशसँग निरन्तर सम्पर्कमा रहेर सक्रियतापूर्वक परामर्श गरिरहेको जानकारी दिँदै उपराष्ट्रपति पुनले महासचिव सियालको कार्यकालमा सार्क प्रक्रियाले गतिलिने विश्वास पनि व्यक्त गर्नुभयो ।
सार्क सचिवालयले सम्पादन गरेका कामबारे जानकारी दिँदै महासचिव सियालले यही मङ्सिर २१ गते राजधानीमा आयोजना हुने सार्कको ३४औँ वार्षिकोत्सवको प्रमुख आतिथ्यता ग्रहण गर्न अनुरोध गर्नुभयो ।
उहाँले सार्क प्रक्रियाप्रति नेपाल सरकारबाट निरन्तररुपमा दृढ साथ र सहयोग प्राप्त भएकामा हार्दिक आभार व्यक्त गर्दै १९औँ शिखर सम्मेलन चाँडोभन्दा चाँडो होस् भन्नेतर्फ लागेकामा त्यसको सराहना गर्नुभयो । (रासस)




प्रतिक्रिया