काठमाडौं, १० मंसिर । नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंशकारले वाईड बडी जहाज खरिदमा अनियमितता नभएको स्पष्ट पारेका छन् ।
उनले यदि संघीय संसदको सार्वजनिक लेखा समितिले आफूलाई यस प्रकरणमा दोषी अथवा भ्रष्टाचार गरेको ठहराए झुण्डिनसमेत तयार रहेको स्पष्ट पारेका छन् ।
आज राति ८ बजे प्राईम टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै कंशकारले यस्तो बताएका हुन् । उनले सबैको सहमतिमा जहाज खरिद गरेको पनि स्पष्ट पारे ।
उनले जहाज क्याबिनेटल निर्णय गरेर ल्याएको पनि जनाए । उनले भने,‘मैले एक्लै निर्णय गरेर ल्याएको हो । सरकारको मन्त्रिपरिषदको बैठकले निर्णय गरेर ल्याएको हो ।’ कंशकार उपचारको लागि आज बैंकक उडेका छन् । उनी बैंककमा चार दिनसम्म रहने बुझिएको छ ।
उता संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले वाइड बडी जहाज खरीदमा अनियमितता भएको पाइएमा जोसुकैलाई पनि कडा कारवाही गरिने चेतावनी दिएका छन् । वाइड बडी विमान खरीद प्रक्रियामा दोषी देखिएका जो कोहीलाई पनि कारवाहीको दायरामा ल्याइने स्पष्ट गरेका छन ।
उनले भनेका छन्,“यस विषयमा सार्वजनिक लेखा समितिलगायत विभिन्न समितिले छानबिन गरिरहेको छ, छानबिनका क्रममा दोषी देखिए जो कोही पनि उम्कन पाउँदैनन्, कारबाहीको दायरामा आउँछन् ।”




प्रतिक्रिया