यूईएफए च्याम्पियन्स लिग : रोमालाई हराउँदै रियल म्याड्रिड शीर्ष स्थानमा


काठमाडौं, १२ मंसिर । रियल म्याड्रिडले एएस रोमालाई २-० ले हराउँदै यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह जी को शीर्ष स्थानमा पुगेको छ।

मंगलबार भएको लिगको पाँचौ खेलमा रियल म्याड्रिडलाई जिताउन ग्यारेथ बेल र लुकास भाज्केजले गोल गरे। पहिलो हाफको अन्त्यमा रोमाका मिडफिल्डर सेन्गिज उन्दरले गोल गर्ने उत्कृष्ट मौकालाई खेर फालेपछि पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।

रियलले दोस्रो हाफको सुरूवातमै अग्रता बनायो। खेलको ४७ औं मिनेटमा ग्यारेथ बेलले डिफेन्डर फेडेरिको फाजियोको गल्तिको फाइदा उठाउँदै रियललाई सुरूवाती अग्रता दिलाए।

खेलको ५९ औं मिनेटमा लुकास भाज्केजले दोस्रो गोल गर्दै रियलको जित पक्का गरे। त्यसपछि खेलमा कुनै गोल भएन र रियलले खेल २-० ले जित्यो।

जितसँगै अंक तालिकामा रियल शीर्ष स्थानमा रहने पक्का भएको छ। रोमा पनि दोस्रो स्थानमा रहँदै अर्को चरण पुगेको छ।

रियल यो सँगै लगातार १५ औं सिजन च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ। सन् २००३-०४ यता यस्तो सफलता हात पार्ने रियल एक्लो टोली हो।

एजेन्सीको सहयोगमा