मंसिर १३, काठमाण्डौ । पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीको लोकप्रियता घट्दै गएको देखिन्छ । प्रधानमन्त्री भएपछि उनले बोलेका र गरेका सबै जसो विषय विवादित र आलोचित हुँदै आएको छ ।
मंगलबार सामाजिक सुरक्षा योजना शुभारम्भ कार्यक्रममा उनले भाषणको पूर्ववत् शैली नै अपनाए– “जहाँ हेर्यो त्यहीँ सरकार छ । अब कम पावर भएका चस्मा लगाउनेहरूले पनि सरकार देख्नेछन् ।”
निर्मलाको न्यायका निम्ति स्वतःस्फूर्त आवाज उठाइरहेका व्यक्तिहरूलाई त्यो पाच्य भएन । सामाजिक सुरक्षा कार्यक्रमको पोस्टर चोकचोकमा टाँसेर सरकार भएको आभास दिलाउन लागिपरेको सरकारलाई #Impunity माार्फत् जवाफ दिन शुरू गरेका हुन् ।

सरकारको सामाजिक सुरक्षा कार्यक्रम प्रचारकै शैलीमा ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएका पोस्टरहरु टाँसिएका छन् । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको तस्वीर राख्दै काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न क्षेत्रमा गएराति पोस्टर टाँसिएको हो ।
निर्मलालाई न्याय दिन माग गर्दै टाँसिएको पोस्टरमा अंग्रेजीमा लेखिएको छ– न्याय दिन ढिलाइ गर्नु न्याय दिन इन्कार गर्नु हो ।
कुनै एक समूहले ‘सरकार भेटियो न्याय भेटिएन’ उल्लेखित पोस्टर सामाजिक सुरक्षा योजना कार्यक्रमको प्रचारकै शैलीमा चोकचोकमा टाँस्दै ‘सरकारको उदासीनताप्रति व्यङ्ग्य पस्किएका हुन् ।
पोस्टरको पुछारमा लेखिएको छ– जस्टिस डिलेड इज, जस्टिस डिनाइड । अर्थात् ढिला न्याय दिनु न्याय नदिनुसरह हो ।
काठमाडौँका चोकचोकमा भेटिने पोस्टर कुन समूहले टाँस्यो भनेर खुलाइएको छैन । स्रोतका अनुसार सोही समूहले केही दिनअघि राष्ट्रपतिको गाडी खरिदका लागि व्यङ्ग्यात्मक चन्दा संकलनसमेत गरेको थियो ।
निर्मलाको न्यायका निम्ति स्वतःस्फूर्त पोस्टर पम्प्लेटमार्फत् नागरिक अभियान शुरू गरिएको बताइएको छ । त्यस्तै सामाजिक सञ्जालमा पनि #Impunity शुरू भएको छ ।




प्रतिक्रिया