कांग्रेस जिल्ला सभापतिको भेला सकिएलगत्तै देशैभरका कोषाध्यक्षहरु पुगे धादिङ, यस्तो छ कारण


मंसिर १३, धादिङ । नेपाली काँग्रेसको जिल्ला सभापतिहरुको भेला सकिएलगत्तै जिल्ला कोषध्यक्षहरुको सम्मेलन हुने भएको छ ।

सभापतिहरुको भेलो नुवाकोटमा आज सकिएको छ । भोलीदेखि कोषध्यक्षहरुको भेला धादिङमा हुँदैछ ।

धदिङको गजुरी गाउँपालिकामा कोषाध्यक्षहरुको सम्मेलन हुन लागेको तनहुँ कांग्रेसका कोषाध्यक्ष रेशम गुरुङले जानकारी दिए ।

सम्मेलनमा कांग्रेसको आगामी महासमिति बैठकबारे छलफल हुने छ । छलफलबाट निस्केका निष्कर्ष पार्टी नेतृत्वलाई सुझाबका रुपमा दिइने छ ।

“मंसिरको २८ गतेदेखि पुसको ३ गतेसम्म हुन गइरहेको महासमिति बैठकलाई सल्लाह, सुझाब दिनका लागि धारणा बनाउँछौँ ।” गुरुङले भने ।

दस्ताबेज नै तयार गरेर पार्टीलाई बुझाउने उनले जानकारी दिए । सम्मेलनका लागि ७७ वटै जिल्लाका कोषाध्यक्षहरु धादिङ पुग्ने क्रम जारी छ । भेला २ दिन चल्नेछ ।

गुरुङले पार्टीलाई सशक्त ढङ्गले अगाडि बढाउँदै पार्टीभित्र रहेको गुटउपगुटको अन्त्यका लागि भेला महत्वपूर्ण हुने बताए ।

कोषाध्यक्षको राष्ट्रिय समितिको आयोजनामा हुने उक्त भेलाको नेपाली काङ्ग्रेस धादिङले संयोजकको भूमिका निर्वाह गर्नेछ ।

नुवाकोटको ककनीमा बुधबारदेखि सुरु भएर बिहीबार सम्पन्न नेपाली काँग्रेस जिल्ला सभापतिहरुको प्रस्तावित विधान मस्यौदा सम्बन्धि छलफलको भेलाले ३८ बुँदे ककनी घोषणा–पत्र जारी गरेको थियो ।

सभापतिहरुको भेलाले परिवर्तित राजनीतिक परिवेश र पार्टीको अबस्था कमजोर भएकाले सामूहिक नेतृत्व आवश्यक रहेको सुझाब दिएको छ ।