योगी आदित्यनाथको भव्य स्वागतमा सिँगो जनकपुर, ‘अफिसियल’ भेटवार्ता नहुने

0
Shares

काठमाडौं, १४ मंसिर । रामजानकी विवाहपञ्चमी महोत्सवमा भाग लिन जनकपुर आउन लागेका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई जनकपुरमा भव्य स्वागतको तयारी गरिएको छ । २६ मंसिरमा हुने उनको भ्रमणका लागि प्रदेश २ सरकारले तयारी थालेको छ । योगीको भव्य स्वागतमा कुनै कसर बाँकी नराखिएको मुख्यमन्त्री लालबाबु राउतले पत्रकार ऋषि धमलालाई जानकारी दिए ।

विवाहपञ्चमीमा जन्तीका रूपमा जनकपुर आउन लागेका मुख्यमन्त्री योगीको स्वागतको तयारीमा प्रदेश सरकार एक हप्ताअघिदेखि नै जुटेको हो । सत्तारुढ भाजपाका हिन्दूवादी नेतासमेत रहेका मुख्यमन्त्री योगी जनकपुर आउने भएपछि सुरक्षाका लागि जनकपुरमा पाँच हजार प्रहरी खटाइने भएको छ । योगी विशेष टिमसहित जनकपुर आउँदैछन् ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको सम्मानमा मुख्यमन्त्री लालबाबु राउतले दिवाभोज दिने कार्यक्रम तय भएको छ । त्यस्तै भारतबाट जन्तीका रूपमा आउने हजार साधुसन्तलाई प्रदेश सरकारले भोज खुवाउने भएको छ ।

मुख्यमन्त्री राउतका अनुसार मुख्यमन्त्री योगीको अफिसियल भेटवार्ता भने नहुने भएको छ ।मुख्यमन्त्री राउतसँगबाहेक उनले सरकारी तवरमा कुनैपनि भेटवार्ता नगर्ने निश्चित भएको छ ।