काठमाडौं, १४ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र यतिवेला सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल आगामी महाधिवेशनमा सभापतिको लागि एक आपसमा भिड्नेगरि अहिलेदेखि नै प्रतिष्पर्धामा उत्रिएका छन् ।
बरिष्ठ नेता पौडेलले सभापति देउवाले पार्टीलाई विधानविपरित चलाएको भन्दै आरोप लगाउँदै आएका छन् । देउवाले मनोमानी गरेको भन्दै पौडेल रुष्ट बनेका छन् । हालै विजयकुमार गच्छदारलाई उपसभापतिमा मनोनित गरेपछि त पौडेल देउवासँग झनै आक्रोशित बनेका छन् । तर, पौडेलले भने अझै तीन जना उपसभापति मनोनित गर्नुपर्ने अडान लिँदै आएका छन् । पौडेलले उससभापतिमा आफ्नो समूहको तर्फबाट डा. शेखर कोइराला, प्रकाशमान सिं र अर्जुननरसिंह केसीलाई बनाउनुपर्ने अडान देउवासामू राखेका छन् ।
यता, पौडेल समूहभित्रपनि कोइराला परिवारले नयाँ मोर्चाबन्दी सुरु गरेका छन् । तीन जना कोइराला नेताहरु एकै ठाउँमा बसेर फोटो हालेपछि कांग्रेसभित्र अहिले तरंग पैदा भएको छ । नेतृ सुजाता कोइरालाको पहलमा महामन्त्री डा. शशांक कोइराला र नेता शेखर कोइरालाले विराटनगरमा एउटै मालामा बाँधिएर फोटो हालेपछि माहोल झनै तातेको हो । हालै, सुजाता निवास मण्डिखाटारमा सुजाताको पहलमा कृष्ण सिटौला, अर्जुननरसिंह केसी, डा. रामशरणमहत, गगन थापा, बलबहादुर केसी, धनराज गुरुङ, गुरु घिमिरे, चन्द्र भण्डारीलगायतका नेताहरु भेला भएर सभापति देउवालाई चूनौति नै दिएका छन् ।
आगामी महाधिवेशनमा कोइराला परिवारबाटै सभापति बन्ने चर्चा भैरहेको बेला नेता पौडेल भने आफू नै सभापतिमा लड्ने तयारीमा छन् । सभापति देउवा लडेपनि वा कोइराला परिवारबाट कोही उठेपनि पौडेलले पनि उम्मेद्धवारी दिने भएका छन् । सोहीअनुरुप अहिले उनी तयारीमा जुटेका छन् ।




प्रतिक्रिया