काठमाडौं, १५ मंसिर । आजदेखि काठमाडौंमा शुरु भएको ‘एशिया प्रशान्त शिखर सम्मेलन–२०१८’ को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बहिष्कार गरेको छ । आजको उद्धघाट्न सत्रमा कांग्रेसका कोही पनि नेताहरु देखिएनन् ।
नेपालको हिन्दुत्वमाथि आक्रमण गरेकोले आफूहरुले यस समिटलाई बहिष्कार गरेको कांग्रेस नेता मीन विश्वकर्माले जानकारी दिए । उनले भने,‘यो समिटले नेपालको हिन्दुत्वमाथि प्रहार गरेको छ, त्यसैले हामीले बहिष्कार गर्यौं । यो समिटमा कांग्रेसका कोही पनि शीर्ष नेताहरु सहभागी हुनुभएको छैन् ।’
आजदेखि काठमाडौंमा शुरु भएको ‘एशिया प्रशान्त शिखर सम्मेलन–२०१८’ को उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरे । ओलीले २१औँ शताब्दी अनुकूल न्याय, शान्ति, समानता, विकास र समृद्धिका लागि साझा प्रयास हुनुपर्ने बताएका छन् ।
नेपाल सरकार तथा सङ्घीय संसद् नेपालको सहयोगमा युनिभर्सल पिस फेडरेसन, इण्टरनेशनल कन्फरेन्स अफ एशियन पोलिटिक्स (आइक्याप), इण्टरनेशनल एशोसिएसन अफ पार्लियामेन्ट फर पिस (आइएपिपी) लगायत संस्थाहरुको आयोजनामा दुई दिनसम्म जारी रहने सम्मेलनमा आधा दर्जन मुलुकका राष्ट्र/सरकार प्रमुखका साथै अन्य मुलुकका विशिष्ट पाहुनाहरु सहभागी हुनुहुन्छ ।
सम्मेलनमा ‘वर्तमान समयका गम्भीर चुनौतीमाथि सम्बोधन : अन्तरनिर्भरता, पारस्परिक समृद्धि र विश्वव्यापी मान्यता’ विषयमा विभिन्न सत्रमा बहस तथा छलफल हुनेछ ।
सम्मेलनमा लागि म्यान्माका स्टेट काउन्सिलर आङसाङ सुकी र कम्बोडियाका प्रधानमन्त्री हुन सेन, भारतका पूर्वप्रधानमन्त्री एचडी देवेगौडालगायत विशिष्ट अतिथि छन् ।
सुकी र सेनको नेपालको औपचारिक भ्रमणसमेत भएकाले उहाँहरुले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री ओलीलगायतसँग भेटवार्ता गरिसक्नुभएको छ । ती मुलुक र नेपालबीच अलग–अलग द्विपक्षीय वार्ता भई सम्झौतासमेत भइसकेको छ ।




प्रतिक्रिया