खेलाडीको जीवन निर्वाहको योजना बन्दै

0
Shares

काठमाडौँ, मंसिर । राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले खेल जीवनपछि पनि खेलाडीले स्वाभिमानको जीवन बिताउने बताएका छन ।

प्रथम इण्डो नेपाल ओपन फुल कन्ट्याक्ट कराँते प्रतियोगिता तथा तेस्रो राष्ट्रिय पुरुष तथा महिला फुल कन्ट्याक्ट प्रतियोगिताको शनिबार काभ्रेपलाञ्चोकको बनेपामा भएको समापन कार्यक्रममा उनले खेलाडीको जीवन निर्वाहका लागि योजना बनाएर अगाडि बढिरहेको जानकारी गराए। अहिले आफूहरुले खेललाई प्राथमिकता दिएर खेलाडीको कल्याणकारी कामका निमित्त पेन्सनको व्यवस्था गरेको उनको भनाइ रहेको थियो।

अहिले नेपालमा खेलकूदको छुट्टै विश्वविद्यालय नभएका कारण पढ्न गए खेल छुट्ने र खेल्न गए पढाइ छुट्ने अवस्था भएकाले अब छिट्टै खेलकूद विश्वविद्यालय खोल्ने तयारीमा रहेको उनले जानकारी गराए

सो क्रममा विष्टले विजयी खेलाडीलाई पदक वितरण गरेका थिए । प्रतियोगितामा पुरुषतर्फ ३० केजी तौल समूहमा सागर थिङ प्रथम र समीर बुढाथोकी दोस्रो हुनुभएको छ भने ३५ केजी तौलभन्दा मुनिका निरोज तामाङ प्रथम र आशुतोष बादे दोस्रो भएका थिए । त्यस्तै ४० केजीभन्दा कम तौल समूहमा अनिल बमजन प्रथम र संसार खड्का दोस्रो भएका छन । ४५ केजीभन्दा कम तौल समूहमा मन्दीप भुसाल प्रथम र अमित मगर दोस्रो भएका थिए । ५० केजी मुनिको तौल समूहमा पारस शाह ठकुरी प्रथम र सरोज तामाङ दोस्रो भए ।

त्यसैगरी महिलातर्फ खुला तौल समूहमा उषा श्रेष्ठ प्रथम र नविना तामाङ दोस्रो भएका थिए । दुई दिनसम्म सञ्चालन भएको प्रतियोगिता नेपाल र भारतबीचमा खेलको माध्यमबाट सुमधुर सम्बन्ध बढाउन र एकै संस्कृतिसँग बाँधिएका सामाजिक जीवनलाई थप विकास गर्नका लागि सो प्रतियोगिताको आयोजना गरेको आयोजकले जनाएको छ ।

नेपाल क्योकुसिन सेइसिन काइकान कराँते सङ्घका केन्द्रीय अध्यक्ष एवं सो सङ्घको जापानको तर्फबाट नेपाली शाखा प्रमुख अशोक श्रेष्ठको अध्यक्षतामा भएको थियो । प्रतियोगितामा भारतको ३५ र नेपालका १४० खेलाडी गरी १७५ जनाको सहभागिता रहेको थियो । रासस