अनि नाम राखियो- किम छानोराङ


काठमाडौं २४ बैशाख ।  किम नारा दक्षिण कोरियाली युवती हुन्। खाइलाग्दो जीउडाल र गोरो वर्णकी उनको उमेर आकलन गर्न कठिन छ। जानेबुझेकाहरू भन्छन्- कोमल हृदय छ उनको। पर्यटक भिसा लिएर नेपाल आइरहन्थिन्। नेपाल आएका बेला प्रायः पोखरा बस्थिन्।

लेकेसाइड क्षेत्रका रेस्टुराँमा बजाइने गीत÷संगीतका कार्यक्रममा उनी देखिइरहन्थिन्। तर उनी ‘अनौठो अपराध’ मा संलग्न भइन्। ती युवतीले एक जना मगरका छोरालाई नाटकीय रूपमा कोरियाली नागरिक नै बनाइन्। त्यो पनि अर्काको कोखबाट जन्मिएको बच्चालाई आफूले जन्माएको भनेर।

नाराले एक वर्षीय ती बालकलाई कोरियाली राहदानीसमेत दिलाइन्। उनको नाम राखियो- किम छानोराङ। कोरियाली राहदानी बनेपछि उनले ती बालकलाई कोरिया लैजान भने सकिनन्। अध्यागमन विभागका कारण बालकलाई कोरिया पुर्‍याउने उनको सपना साकार भएन नै, आफूसमेत प्रहरी हिरासतमा पुगिन्।

अध्यागमन विभागका कर्मचारीले नाराको घटनालाई निकै महत्व दिएर अनुसन्धान गरेको देखिएको छ। नाराको यो उदाहरणले विदेशीहरू घुम्ने उद्देश्यले मात्र नेपाल नआउने गरेको तथ्यलाई समेत पुष्टि गरेको छ।

यस्तो थियो घटना

काठमाडौं र पोखरामा प्रशस्तै नेपाली साथी बनाएकी उनको पोखरा बसाइकै क्रममा एक निम्न आय भएका मगर दम्पतीसँग भेट भयो। मगर दम्पतीका तीन सन्तानमध्येका कान्छा हुन्, एक वर्षीय नाबालक। रुकुम पुख्र्यौली घर भए पनि तीन सन्तानका साथ मजदुरीका लागी मगर दम्पती पोखरामा बसोवास गर्दै आएका थिए। सन्तानको पालनपोषण र शिक्षादीक्षाको विषयमा उनीहरू चिन्तित थिए। मगर दम्पतीको दुःख देखर नारा पनि बेचैन बन्थिन्।

त्यसैले मगर दम्पतीले आफूहरूप्रति दयाभाव राख्ने कोरियाली युवतीलाई आफ्नो बच्चा लगेर पालनपोषण र राम्रो शिक्षादीक्षा दिन आग्रह गरे। नाराले मगर दम्पतीको प्रस्ताव स्विकारिन्। ४÷५ महिनाको हुँदै किम नाराले ती बालकलाई ग्रहण गरिन् र दक्षिण कोरिया लैजाने निधो गरिन्। आफ्नी आमालाई समेत पोखरा ल्याएकी किम नाराले आफू नहुँदा बच्चालाई आमाको जिम्मा लगाउँथिन्।

अर्काको कोखबाट जन्मिएको बच्चालाई आफूले जन्माएको भनेर कोरिया पुर्‍याउनु नारालाई सजिलो थिएन। जुक्ति खोज्न उनले आफूसँग निकट नेपालीसँग सल्लाह गरिन्। सल्लाहअनुसार नाराले ती बालक आफ्नै कोखबाट जन्मिएको प्रमाणित गराउन काजगपत्र बनाउन थालिन्। र पोखरा महानगरपालिकाले ती बालक कोरियाली युवतीले नै जन्माएको भनेर जन्म सिफारिससमेत गरिदियो। महानगरको सिफारिसपत्रमा त्यहाँ कार्यरत उपसचिवले हस्ताक्षर गरेका छन्। पोखराको हरिचोकस्थित जिनो अस्पतालले कोरियाली युवतीले नै ती बालक जन्माएको भन्दै ‘बर्थ सर्टिफिकेट’समेत दिएको छ।

ती कागजपत्र सम्बन्धित निकायले बनाइदिए वा कसैले नक्कली कागजपत्र दिए भन्ने विषय अनुसन्धानको घेरामा आएको छ। प्रहरीले पोखरा महानगरपालिका र जिनो अस्पतालले दिएको प्रमाणपत्र सक्कली हो÷होइन भनेर अनुसन्धान गरिरहेको छ। पोखराबाट सबै कागपत्र बनाएपछि किम नारा काठमाडौंको रविभवनस्थित दक्षिण कोरियाली दूतावास पुगिन्। राहदानी बनाउन ती नाबालकको सबै कागजपत्र दक्षिण कोरियाली दूतावासमा पेस गरिन्।

दक्षिण कोरियाली दूतावासले समेत ती बालक किम नाराले नै जन्माएको भन्दै राहदानी जारी गर्‍यो। त्यस बेलासम्म कोरियाली युवतीले आफूहरूलाई झुक्याएको दूतावासलाई पत्तो थिएन। अहिले किम नाराले आफूहरूलाई झुक्याएको दूतावासका अधिकारीलाई जानकारी भएको छ। दूतावासका अधिकारीले अनुसन्धानमा सहयोग गर्ने अनौपचारिक प्रतिक्रिया दिएका छन्।

राहदानी बनेपछि ती बालकको भिसा लिन कोरियाली युवती किम नारा कालिकास्थानस्थित अध्यागमन विभाग पुगिन्। त्यहाँका कर्मचारीले राहदानीमा बच्चाको फोटो देख्नेबित्तिकै शंका गरे, ‘आमाछोराको अनुहार मिल्दैन, कसरी भिसा दिने ? ’ त्यसैका आधारमा अध्यागमनका अधिकारीले तुरुन्तै अनुसन्धान अघि बढाए।

विभागले एक विशेष टोलीलाई पोखरासम्म अनुसन्धान गर्न पठायो। अनुसन्धानले कोरियाली युवतीको नेपाल बसाइ, बच्चा जन्माएको भनिएको मितिलगायत विवरण फरकफरक पायो। अनुसन्धानले ती कोरियाली युवतीका सबै हर्कत गलत देखाएपछि अध्यागमन विभागले उनको यात्रा रोक्न त्रिवि अध्यागमनलाई पत्राचार गर्‍यो।

वैशाख १८ गते दक्षिण कोरिया फर्कने क्रममा ती कोरियाली युवती किम नारा त्रिवि अध्यामगनमा पक्राउ परिन्। त्रिवि अध्यागमनका कर्मचारीले उनलाई पक्राउ गरी विभाग पठाएको थियो। विभागले आफ्नो अनुसन्धान पूरा गरी थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) पठाएको छ। घटनाबारे अनुसन्धान भइरहेको ब्युरोका प्रवक्ता÷एसपी सुदीप गिरीले बताए। ‘ महानगरपालिका, अस्पताललगायत निकायबाट बनाएको कागजात नक्कली हो वा होइन अनुसन्धान भइरहेको छ’, उनले भने। अर्काको बच्चालाई आफुले जन्माएको कागजपत्र बनाएर दक्षिण कोरिया लैजाने अन्तिम तयारीमा रहेका बेला अध्यागमनले किम नारालाई पक्राउ गरेको हो। अन्नपूर्णपोष्टबाट